राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले प्रदेश सरकारमा सामेल हुने वा नहुने भन्नेबारे ठोस निर्णय लिन सकेन।
केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकारबारे उपयुक्त समयमा उपयुक्त निर्णय लिइने बताए।
गण्डकी, बागमतीलगायत प्रदेशमा सरकार गठनमा राप्रपा पनि निर्णायक छ।
यसबारे आज केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल भएको थियो।
‘केही प्रदेशहरूमा सरकार फेरबदलका विषयमा पनि आज हामीले छलफल गरेका छौं, राप्रपा सत्ताकेन्द्रित गतिविधिमा सामेल छैन, प्रदेश सरकार कांग्रेस-एमाले र नेकपा मिलेर नै बनाऊन् भन्ने धारणा राख्छ, विशेष निर्णय गर्नुपर्ने अवस्था आयो भने उययुक्त समयमा उपयुक्त निर्णय गर्ने जिम्मेवारी अध्यक्षलाई दिने भन्ने टुंगो लागेको छ,’ अध्यक्ष लिङ्देनले भने।
बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा प्रदेश सत्ता राजनीतिको गणितीय चलखेलमा पार्टी सामेल नरहेको उल्लेख छ।
‘वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल छैन र लालायित पनि छैन। प्रदेश सरकारहरू अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरुँन् भन्ने हाम्रो धारणा रहेको छ। प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिइ उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ। पार्टीको निर्देशन बिना सत्ताकेन्द्रित कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरूलाई बैठक निर्देश गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।