नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'चाहेका बेला पद छाड्ने गरी' मुख्यमन्त्री हिक्मत कार्कीले कोशी सरकार प्रमुखका रूपमा निरन्तरता पाउने भएका छन्।
एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले दिएको जानकारी अनुसार बुधबार गुण्डुस्थित ओली निवासमा भएको छलफलमा यस्तो सहमति जुटेको हो।
'पार्टी अध्यक्षले पद छाड्नू भनेका बेला छाड्ने गरी अहिलेलाई हिक्मतजीकै नेतृत्वमा सरकारलाई निरन्तरता दिने सहमति भएको छ,' गुण्डु छलफलमा सहभागी अध्यक्ष खतिवडाले भने, 'अहिले निरन्तरता दिने र अध्यक्षले भनेका बेला आफूले मान्ने भनेर मुख्यमन्त्री स्वयंले भन्नुभएको छ।'
अध्यक्ष ओलीले पदबाट राजीनामा दिन अहिलेसम्म दिएको दबाब अस्वीकार गर्दै आएका कार्कीले 'पार्टी कमिटीले निर्णय गरे मात्रै पद छोड्ने' अडान राख्दै आएका थिए।
अध्यक्ष खतिवडाका अनुसार बुधबारको छलफलमा भने कार्कीले अहिले निरन्तरता पाए फेरि अध्यक्षले भनेका बेला पद छाड्ने वचन दिएका छन्।
अध्यक्ष ओली कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने कसरतमा छन्।
अध्यक्षले चाहेका बेला भनेको कहिले भन्ने प्रश्नमा प्रदेश अध्यक्ष खतिवडाले भने, 'त्यो जहिले पनि हुनसक्छ। भोलि नै पनि हुनसक्छ। अर्को कुनै दिन पनि हुनसक्छ।'
बुधबारको गुण्डु भेटबारे मुख्यमन्त्री हिक्मत कार्कीले भने बिहीबारसम्ममा सबै कुरा टुंगो लाग्ने बताएका छन्।
अध्यक्ष ओलीले पदबाट राजीनामा दिन दिइरहेको दबाब अस्वीकार गर्दै आएका मुख्यमन्त्री कार्की ओलीसहितका शीर्ष नेतासँग छलफल गर्न मंगलबारदेखि काठमाडौंमा छन्।
'अध्यक्षज्यूसँग राम्रो कुराकानी भएको छ,' बुधबार ओलीसँग भेटेर फर्केपछि मुख्यमन्त्री कार्कीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'भोलिसम्ममा टुंगो लाग्छ।'
मुख्यमन्त्री कार्कीले पार्टी कमिटीको निर्णय भए तत्कालै राजीनामा दिने तर व्यक्तिको मौखिक आदेशमा नदिने अडान व्यक्त गर्दै आएका छन्। मंगलबारको भेटमा उनले त्यही कुरा ओलीलाई बताएका थिए।
बुधबार फेरि भएको भेटमा पनि मंगलबारकै अडान दोहोर्याउनुभएको हो भन्ने प्रश्नमा मुख्यमन्त्री कार्कीले कुनै जबाफ दिन चाहेनन्।