पूर्वस्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई सुधारसहित सरकारले निरन्तरता दिनुपर्ने बताएका छन्।
सरकारका उच्च पदस्थ र समर्थकहरू स्वास्थ्य बिमाबारे नकारात्मक सुनिँदा लाखौं नेपालीको ज्यान जोखिममा परेको पनि उनको भनाइ छ।
स्वास्थ्य बिमाबाट उपचारमा कठिनाइ भइरहेको, उपचारको दायरा साँघुरिएको र सुविधा प्राप्त गर्न नसकिएका गुनासा सुनिएको भन्दै आज एक भिडिओ सन्देश जारी गर्दै पौडेलले भनेका छन्, ‘यस विषयमा सरकारलाई मेरो एउटा प्रश्न छ- नागरिकको ज्यानलाई नाफा र घाटाको तराजुमा जोख्न मिल्छ?’
पैसा अभावमा आमनागरिक उपचारबाट बञ्चित नहुन् भनेर स्वास्थ्य बिमा सुरू गरिए पनि अहिले सरकारकै जिम्मेवार व्यक्तिहरूले यो सम्भव छैन भन्ने ढंगले अभिव्यक्ति दिने गरेको उनले बताए।
‘३५ सय शुल्क लिएर कसरी १ लाखको सेवा दिन सकिन्छ भनेर सरकारका जिम्मेवार व्यक्तिले टिप्पणी गरेको सुनिन्छ,’ अर्थमन्त्री स्वर्णिम वाग्लेप्रति लक्ष्य गर्दै उनले भने, ‘यदि राज्यले नागरिकलाई दिने सेवा वा सहुलियतलाई नै ब्यालेन्स सिटको तराजुमा जोख्ने हो भने नागरिकका लागि ब्यापारी र राज्यबीच भिन्नता के नै रह्यो र?’
अहिले सरकारका उच्च पदस्थ र समर्थकहरू स्वास्थ्य बिमाका बारेमा नकारात्मक रहेको प्रष्ट देखिएको र यस्तो गतिविधिले लाखौं नेपालीको ज्यान जोखिममा परेको उनले बताएका छन्।
आफूले मन्त्री हुँदा स्वास्थ्य बिमा सुधारका लागि प्रयास गरेको उनले स्मरण गरेका छन्। यस कार्यक्रमलाई अझ बलियो र दीगो बनाउने गरी सेवा दायरा बढाएर ५ लाखसम्म पुर्याउन केही आधार तयार गरिएकोसमेत उनले बताए।
‘मिर्गौला प्रत्यारोपण हकमा ८ लाखसम्मको सेवा दिने गरिएको थियो,’ उनले भने, ‘सबै पालिकामा सेवा पुर्याउन काम गरिएको थियो। बिमितले आफू बसेको ठाउँबाट सेवा लिन सकिने व्यवस्था गरिएको थियो।’
कोमामा पुगिसकेको स्वास्थ्य बिमालाई आफूले काम गर्न सक्ने बनाएको पनि उनले बताए। कल्याणकारी राज्यले नागरिकलाई सेवा वा सहयोग गर्दा नाफा हुन्छ कि हुन्न भनेर हेर्न नहुने पनि उनले बताएका छन्।
आफू मन्त्री रहँदा डा. शम्भु आचार्य नेतृत्वमा गठन भएको समितिले दिएको प्रतिवेदनका मुख्य अंशमात्रै कार्यान्वयन गरे स्वास्थ्य बिमाका धेरै समस्या समाधान हुने उनले बताए। उनले स्वास्थ्य बिमालाई सुधार गरी निरन्तरता दिन पनि सरकारसँग माग गरेका छन्।