नेपालका लागि इसराइलका राजदूत श्मुलिक एरी बासले पोखराका विभिन्न क्षेत्रका व्यक्तहरूसँग छुट्टा–छुट्टै भेटघाट तथा अन्तरक्रिया गरेका छन्।
बुधबार पोखरा ओर्लिएका राजदूत बासले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य लगायतसँग भेटवार्ता गर्नुका साथै पोखराका व्यवसायी, सामाजिक क्षेत्रका व्यक्तित्वहरु र संचारकर्मीसँग पनि छुट्टाछुट्टै अन्तरक्रिया गरेका छन्।
राजदूत बासको भेटवार्ता तथा अन्तरक्रिया नयाँ विशेष कार्यक्रमका लागि नभइ नियमित कार्यक्रम भएको दूतावासले जनाएको छ।
भेटवार्ताका क्रममा राजदूत बासले पोखरामा पर्यटकको संख्या दिनानुदिन बढेको भन्दै आगामी दिनमा अझ बढ्ने बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडान शुरु भएपछि इसराइली नागरिक पनि सिधै पोखरा आउन सक्ने बताए।
कृषि, शिक्षा, रोजगारी, पर्यटन र प्रविधिमा दुई देशबीचको सहकार्य निरन्तर विस्तार भइरहेको बताएका छन्। उनले इसराइलमा नेपाली विद्यार्थी र कामदारले सिकेको ज्ञान तथा सीप नेपालमा प्रयोग गरिरहेको उल्लेख गर्दै भविष्यमा पनि सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
राजदूत बासले इसइराइ नेपाल आउने पर्यटकको संख्या ११ हजारभन्दा बढी रहेको भन्दै उनले मध्यपूर्व युद्धका कारण उडान अवरुद्ध नभएको भए त्यो संख्या दोब्बर हुने बताए।
इसराइलमा कार्यरत नेपाली कामदारका परिवार र आफन्तको नेपाल–इसराइल आवतजावत पनि बढ्दो क्रममा रहेको भन्दै यसले दुई देश बीचको सम्बन्धलाई थप बलियो बनाएको बताए।
इसराइलको अन्तर्राष्ट्रिय विकास सहयोग कार्यक्रममार्फत हजारौँ नेपालीले कृषि, सिँचाइ, बागवानी, मत्स्यपालन, प्रारम्भिक बालशिक्षा तथा अन्य क्षेत्रमा तालिम लिइसकेको उनले बताए।
‘इसराइलबाट तालि लिएर नेपाल फर्किएका सहभागीहरूले आधुनिक कृषि प्रविधि प्रयोग गरेर सफल व्यवसाय सञ्चालन गरिरहेका छन्। अहिले उनीहरू आफैं अरू किसानलाई सिकाइरहेका छन्, उनले भने।
रोजगारीका विषयमा बोल्दै उनले इसराइलमा वृद्धवृद्धाको स्याहारमा नेपाली कामदारको माग बढिरहेको बताए। ‘इसराइलमा श्रमिकको अधिकार सुरक्षित छ। तलब राम्रो छ, स्वास्थ्य बीमा छ र कानुनी सुरक्षा पनि बलियो छ,’ उनले भने।
नेपाल र इसराइलबीच श्रमिक संरक्षणसम्बन्धी थप प्रोटोकलमा छलफल भइरहेको जानकारी दिँदै नेपालीहरूलाई आधिकारिक माध्यमबाट मात्रै रोजगारीमा जान आग्रह गरे। गलत सुचना र अवैध विचौलियाबाट सावधान रहन पनि उनले आग्रह गरेका छन्।
राजदूत बासले अनुसन्धान तथा नवप्रवर्तनमा लगानी बढाउन नेपाललाई सुझाव दिए।
कार्यक्रममा उनले मध्यपूर्वको सुरक्षा अवस्थाबारे पनि आफ्नो धारणा राखे। इसराइलको सैन्य कारबाही हमासविरुद्ध लक्षित रहेको दाबी गर्दै उनले भने, ‘हाम्रो लक्ष्य नागरिक होइनन्। हाम्रो लक्ष्य हमास हो।’
उनले हमासहरू नागरिकको बीचमा लुकेर बस्ने र उनीहरूलाई ढालको रूपमा प्रयोग गर्ने भएकाले पनि अवस्था जटिल बनेको बताए। नेपाल र इसराइलबीच सन् १९६० देखि कूटनीतिक सम्बन्ध कायम छ। त्यसयता कृषि, शिक्षा, प्रविधि, स्वास्थ्य र श्रम क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार हुँदै आएको छ।