नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ‘कोइराला निवास’ को मर्मत संहारका लागि छुट्याइएको बजेट फिर्ता लिन सरकारलाई अनुरोध गरेका छन्।
कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै उक्त बजेट फिर्ता लिन अनुरोध गरेका हुन्।
‘राज्य सामु आम नागरिक जो बञ्चना, अभाव र अनेकन् कष्टमा छन्। त्यस्ता नागरिकको उत्थानको लागि उपलब्ध सिमित स्रोत र साधनको उपयोग होस् भन्दै विनम्रतापूर्वक, विराटनगर महानगरपालिका-७ कोशी अस्पताल चोक, मोरङस्थित (कोइराला निवास)को मर्मत तथा संहार भनी विनियोजन गरिएको उक्त रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ छु,’ उनले लेखेका छन्।
कोइराला निवास पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म घर हो। यसको लागि बजेट छुट्याएकोमा डा.कोइरालाले धन्यवाद समेत प्रकट गरेका छन्।
भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो।
