नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले पार्टीलाई एकताबद्ध गरिने बताएका छन्।
कोइरालाले राष्ट्रसामु देखिएका चुनौतिहरूको सामना गर्न र नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूलाई एकताबद्ध गर्नु भेलाको मूल उद्देश्य रहेको पनि बताए।
आज चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ कार्यदिशासहित नयाँ जीवन दिने बताए।
कोइरालाले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकतासहित भावी कार्यदिशा तय गर्न साउन २९–३१ गतेसम्म भेला गर्न लागिएको बताए।
उनले राष्ट्रिय भेला नरोकिने पनि बताए।
भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने उनको दाबी छ।
कोइरालाले कांग्रेस केन्द्रीय विशेष महधिवेशनबारे मुद्दामा सर्वाेच्च अदालतले पुनरावलोकनका लागि दिएको अनुमतिलाई स्वागत पनि गरेका छन्। साथै उनले पुनरावलोकनबाट आफूहरूमा न्याय प्राप्त हुने कुरामा विश्वस्त रहेको पनि बताए।

