सभामुख डोलप्रसाद अर्यालले कालो चस्मा नलगाउन प्रमुख सचेतकहरूमार्फत् सन्देश पठाएपछि शुक्रबारको बैठकमा कोही पनि सांसदले कालो चस्मा लगाएनन्।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे सुरू भएको थियो। सेतोपाटीले उक्त बैठकको भिडिओ फुटेज हेरेको छ। फुटेजमा कुनै पनि सांसदले कालो चस्मा लगाएको देखिँदैन।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि बैठकमा कालो चस्मा लगाएर आएका सांसदहरू आफूले नदेखिएको बताए।
'कालो चस्मा लगाएर कोही सांसद आउनु भएको भए आँखा पर्थ्यो होला', गिरीले भने, 'कसैले पनि कालो चस्मा लगाएको देखिनँ।'
उनले कालो चस्मा लगाएको भनेर मर्यादापालकबाट पनि रिपोर्ट नआएको बताए।
सभामुख अर्यालले सांसदहरूलाई प्रमुख सचेतकमार्फत कालो चस्मा नलगाउन, लबीमा धेरै बेर नउभिन र बैठक चलिरहँदा सेयर किनबेचको कार्य नगर्न भनेका थिए।
यसअघिका बैठकहरूमा कतिपय सांसदहरू कालो चस्मा लगाएर उपस्थित हुन गरेका थिए। प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरूङ र पूर्वाधार मन्त्री सुनिल लम्साल पनि कालो चस्मा लगाएर संसद जाने गरेका थिए। आज गृहमन्त्री सुधन गुरूङ संसद बैठक कक्ष छिर्ने बेलासम्म कालो चस्मामै देखिएका थिए तर उनले बैठकमा बस्दा कालो चस्मा लगाएका थिएनन्।
आजको बैठकमा रास्वपाका सांसद मनिष झाले गाडीको कालो सिसा परिवर्तन गरेजस्तै कालो चस्मा पनि परिवर्तन गर्न सुझाव दिएका छन्। उनको सुझावमा विपक्षीदलहरूले समर्थनमा टेबल ठोकेका थिए।
कालो चस्मा लगाउन नहुने सभामुखको धारणाको प्रभाव राष्ट्रिय सभामा पनि देखिएको छ। राष्ट्रिय सभामा बिहीबार सांसदहरूको प्रश्नको जबाफ दिने क्रममा गृहमन्त्री सुधन गुरुङले चस्मा खोलेका थिए।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन शाह सहभागी थिएनन्। सबैको चासो अब प्रधानमन्त्री संसद बैठकमा कालो चस्मा लगाएर उपस्थित हुन्छन् कि हुँदैनन् भन्नेमा छ।