नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वमहामन्त्री शशांक कोइरालासँग हालसालै भएको एक भलाकुसारीका क्रममा भएका कुराकानी सुनाएका छन्।
शनिबार श्यामबहादुर कार्की स्मृति कार्यक्रममा बोल्दै त्यो भलाकुसारीमा भएको कुराकानी सभापति थापाले बताएका छन्।
उक्त भलाकुसारीमा बीपीबारे चर्चा भएको थियो।
`शशांक कोइरालासँग एकछिन अस्ति भलाकुसारीका क्रममा मैले बिपीबारे भनेको थिएँ, तपाईँका लागि बीपी कोइराला भनेको पिता हो। तपाईंहरूको सम्बन्ध भनेको बुवा छोराको हो,´ सभापति थापाले भने।
विपीसँग आफ्नो सम्बन्ध इश्वर र भक्तको जस्तै रहेको सभापति थापाले बताए।
‘किनकि मैले देखेकै छैन, भेटेको पनि होइन, न मैले छोएको छु, न मैले छामेको छु, न मैले सुनेको छु। म सानो हुँदैमा बीपी स्वर्गवास हुनुभयो। तर अहिले पनि म आँखा चिम्म गरेर एकछिन बस्यो भने यो नेपालको सबैभन्दा विराट व्यक्ति को होला, म जस्ता अनगिन्ती मान्छेको जीवनमा प्रभाव पार्ने महापुरुष को होला भन्यो भने बीपी कोइरालाबाहेक अर्को चित्रै आउँदैन। त्यो आकृति नै आउँदैन। तर बीपी कोइरालासँग मेरो कुनै प्रश्नै छैन। प्रश्न नभएको सम्बन्ध भनेको आस्था हो। भगवानसँग के प्रश्न हुन्छ?,’ उनले भने।
त्यही कुरा आफूले शशांक कोइरालालाई भनेको उनले बताए।
‘त्यसैले मैले अस्ती शशांक डाक्टर साबसँग बस्दा भनेँ, तपाईंका लागि बिपी पिता बाछोराको सम्बन्ध, हाम्रा लागि त भगवान र भक्तको जस्तै सम्बन्ध हो। तर भगवान मान्छु भन्दा मान्न पाउँछस्, यो त मेरो हो नि भनेपछि समस्या हुने रहेछ,’ उनले भने।
अहिले शशांक कोइरालाको संयोजकत्वमा संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेलाको तयारी गरिरहेको छ।
कांग्रेस संस्थापन पक्षले पनि आज पदाधिकारी र भोलि केन्द्रीय समिति बैठक गर्दैछ।
विशेष महाधिवेशन विवादबारे सर्वोच्चमा फेरि सुनुवाइ हुने अवस्था सिर्जना भएको छ।