राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले परिवर्तनको महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको बताएका छन्।
प्रधानमन्त्री बालेन शाहले शुक्रबार मध्यराति लेखेको स्ट्याटसलाई लक्ष्य गर्दै सांसद झाले सिंगो पार्टी सरकारको साथमा रहेको बताएका हुन्।
'परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौं,' उनले एक्समा लेखेका छन्।
प्रधानमन्त्री बालेनले कहिलेकाहीँ एक्लै लड्नुपर्ने बताएका थिए।
'…सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन,' प्रधानमन्त्री बालेनले गएराति स्ट्याटसमा लेखेका थिए।
सांसद झाले सरकारले सुधार गर्नै पर्ने केही पक्ष भने रहेको बताए।
'हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सकारको साथमा छु। यहाँ कोही एक्लो छैन,' सांसद झाले लेखेका छन्।