राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा पद मात्रै ओगट्नेलाई बिदा गर्ने बताएका छन्।
राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले काम गर्नेका लागि पार्टीमा ठाउँ रहेको तर पद मात्रै ओगटेर बस्नेहरुका लागि ठाउँ नभएको बताएका हुन्।
'काम गर्ने साथीहरूका लागि पार्टीमा पूर्ण ठाउँ छ, तर पद मात्र ओगट्ने र लडाइँको बेला भाग्नेहरूलाई म आफैँ धकेलेर बिदा गरिदिन्छु। पहिले आफ्नो परिवारका सदस्यहरूलाई राप्रपामा आवद्ध गराउनुस्। आफ्नै परिवारका सदस्यले नपत्याएको व्यक्तिलाई छिमेकी र समाजले विश्वास गर्दैनन्,' उनले भने
उनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने पनि बताए।
'राजनीतिमा लागेर पार्टी र देशको सेवा गर्न चाहने कसैले पनि अवसर पाउँदिन कि भनेर डराउनु पर्दैन । सबैको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी म लिन्छु,' उनले भने।
पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित नहुन पनि अध्यक्ष लिङ्देनले कार्यकर्ताहरूलाई आग्रह गरे।
उनले अन्तरसंघर्ष वा विगतका कुनै पनि मतभेदका कारण कोही पनि त्रसित हुनु नपर्ने उल्लेख गर्दै उनले आफू सबैको अभिभावक भएर काम गर्ने बताए ।
यद्यपि, जिम्मेवारी लिएर काम नगर्ने र सङ्कटको समयमा पछि हट्नेहरूका लागि पार्टीमा कुनै स्थान नहुने स्पष्ट पारे।
पार्टीको सङ्गठन सुदृढीकरणका लागि अहिले सक्रिय सदस्यता अभियान चलिरहेको जानकारी दिँदै अध्यक्ष लिङदेनले यस कार्यमा तत्काल केन्द्रित हुन कार्यकर्ताहरूलाई निर्देशन दिए।
अध्यक्ष लिङदेनले योजनावद्ध ढङ्गले नातागोता र छरछिमेक हुँदै संगठन विस्तारमा लाग्न आग्रह गर्दै निकट भविष्यमा राप्रपामा जनलहर आउने दाबी समेत गरे। इमान्दार भएर वडा जिताउने र पार्टीको जिम्मेवारी बहन गर्ने संकल्पका साथ अघि बढ्न उनले कार्यकर्तालाई हौसला दिए।–न्युज एजेन्सी नेपाल