अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई देखिएको क्यान्सर रोग शरीरका अरू अंगहरूमा पनि फैलिएको खुलेको छ।
बाइडेनका छोरा हन्टर बाइडेनले बिबिसीसँगको कुराकानीमा आफ्नो पितामा देखिएको क्यान्सर शरीरभरि फैलिएको बताएका हुन्।
आफ्ना पिता अहिले पीडादायी दैनिकीबाट गुज्रिरहेको हन्टर बाइडेनले बिबिसीसँग बताएका छन्।
'क्यान्सर हड्डीमा र त्यसभन्दा पनि बाहिर फैलिएको छ। यो निकै पीडादायी र धेरै हिसाबले कमजोर बनाउने खालको छ,' उनले बिबिसीसँग भनेका छन्।
अघिल्लो वर्षको मे महिनामा बाइडेनलाई प्रोस्टेट क्यान्सर देखिएको थियो।
त्यतिबेला पिसाबसम्बन्धी समस्या देखिएपछि परीक्षण गराउँदा प्रोस्टेटमा गाँठो भेटिएको थियो।
त्यसपछि गरिएको परीक्षणबाट उनलाई आक्रामक प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको थियो। चिकित्सकहरूले उक्त क्यान्सर चौथो स्टेजमा पुगिसकेको हड्डीसम्म फैलिसकेको बताएका थिए।
बिबिसीको न्युज नाइटसँग कुरा गर्दै हन्टरले पिताको क्यान्सर फैलिएर हड्डी र शरीरका अरू अंगमा समेत संक्रमण भएको बताएका हुन्।
पहिलो चोटि क्यान्सर पुष्टि हुँदा निको नहुने स्थितिमा पुगिसकेको भए पनि ८३ वर्षीय बाइडेनलाई औषधीको नियमित प्रयोगबाट ५ देखि १० वर्षसम्म बचाउन सकिने चिकित्सकहरूले बताएका थिए।
बाइडेनले राष्ट्रपतिको कार्यकाल पूरा गरी ह्वाइट हाउसबाट निस्किएको चार महिनापछि मात्रै खुलासा गरेका थिए।
बाइडेन सन् २०२० मा अमेरिकी राष्ट्रपति निर्वाचित हुँदा अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति बनेका थिए। सन् २०२१ देखि २०२५ सम्म राष्ट्रपति रहँदा उनको शारीरिक स्वास्थ्य र मानसिक तीक्ष्णतामाथि निरन्तर प्रश्न उठ्दै आएको थियो।
राष्ट्रपति पद छाडेपछि पनि बाइडेन सार्वजनिक कार्यक्रममा देखिँदै आएका छन्।
उनले गत जुनमा शिकागोमा पूर्वराष्ट्रपति बाराक ओबामाको प्रेसिडेन्सियल लाइब्रेरीको समर्पण समारोहमा सहभागिता जनाएका थिए।
बाइडेन सन् २००९ देखि २०१७ सम्म ओबामाको उपराष्ट्रपति थिए।