रास्वपा सहमहामन्त्री तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन्।
ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम यथावत रहेकोमा प्रश्न उठाए।
‘परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ कहाँ कहाँ नाम परिवर्तन भए। त्यो सिंहदरबार भन्ने चाहिँ, न हामीसँग सिंह छ, हैन? हामीसँग सिंह छैन। त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन। त्यसलाई अनामनगर दरबार राख्दिएको भए हुन्थ्यो होला, त्यो परिवर्तन पछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा हामीसँग सिंह नै छैन, त्यसको नाम सिंहदरबार नै छ र त्यसको केही हाउभाउ, भावभङ्गीहरू त्यो भाषा जस्तै छ, त्यो चिर्नुपर्नेछ। मैले यो मुहानका विषयमा यति कुरा राखेँ,’ उनले भने।
सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र प्रवृत्तिमा समेत परिवर्तनको आवश्यकता रहेको बताए।
प्रशासनिक केन्द्रको ‘मुहान’ मै सुधार हुनुपर्ने र पुरानो सोच तथा भाष्यलाई चिर्नुपर्ने उनले बताए।
–न्युज एजेन्सी नेपाल