नेपाली कांग्रेसका निवर्तमान सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापालाई पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुन भनेका छन्।
नेता खड्काले सामाजिक सञ्जाल फेसबुकमा आइतबार अपिल सार्वजनिक गर्दै पार्टी एकताका लागि निर्णयक सभापति थापा नै रहेको उल्लेख गरेका छन्।
‘पार्टी सभापति गगन थापाजीसँग मेरो विशेष आग्रह र अनुरोध छ- तपाईं हिम्मत र साहासका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमाेर्चामा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयाेगी हौं र बन्छाैं, तर यहानिर स्पष्ट हुन जरूरी छ- निर्णायक तपाईं हाे तपाईं।’
गत पुसमा भएको विशेष महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सहभागी भएका थिएनन्। उनीहरूले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला तयारी पनि गरेका छन्।
यस्तो छ खड्काको भनाइ-
पार्टीका सबै अग्रज आदरणीय नेताहरू, पार्टीको विभिन्न तहको जिम्मेवारीमा रहनुभएका सबै साथीहरू, भ्रातृ-शुभेच्छुक संस्थाका सबै तहमा रहनुभएका साथीहरू, शुभेच्छुक तथा समर्थक आदरणीय दिदीबहिनी, दाजुभाइहरू सबैमा जय नेपाल।
पार्टीको आधिकारिकताकाे विवादका विषयमा सम्मानित सर्वाेच्च अदालतले हामीलाई निस्सा दिए पछिकाे ३ दिनका सामाजिक सञ्जालमा पार्टीकै साथीहरूबाट लेखिएका विचार, टीका-टिप्पणी हेर्दा साहृै चिन्तित बनाएकाे छ।
इतिहासमै देशकाे राष्ट्रियता अत्यन्त प्रतिकूल र संकटापन्न अवस्थामा पुगेकाे, लाेकतान्त्रिक संविधान धरापमा पार्ने षड्यन्त्र भइरहेकाे अवस्था अनि काूग्रेस पार्टी इतिहासमै सबैभन्दा बढी कमजाेर र प्रतिकूल अवस्थामा रहेकाे बेला आजको प्रथम अपरिहार्य आवश्यकता भनेको नेपाली कांग्रेसको सम्पूर्ण एकता हाे। यसका लागि हामी बीचमा सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वकाे समभाव सृजना गरी संवाद-सहमति अनि यसबाट सुदृढ एकता पूर्वसर्त हो- वर्तमान भिमकाय चुनाैतिहरूकाे सामना गर्नका लागि।
यसका लागि पार्टीका हामी जिम्मेवार प्रत्येक व्यक्तिले हाम्रा व्यक्तिगत अस्वाभाविक महाेत्त्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिसाेध अनि कुन्ठाबाट मुक्त भएर सामूहिक भावनाबाट पार्टीको सम्पूर्ण एकताका लागि तत्काल निरर्णायक अग्रसरताका लागि अघि बढाैं। सम्मानित सर्वाेच्च अदालतकाे पूर्ण इजलासले पुनरावलोकनकाे लागि दिएकाे निस्सा हामीलाई पार्टीकाे सम्पूर्ण एकता गर्ने अन्तिम अवसर दिएकाे हाे भन्ने हेक्का राखाैँ।
पार्टी सभापति गगन थापाजीसँग मेराे विशेष-विशेष आग्रह र अनुराेध छ- तपाईं हिम्मत र साहासका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमाेर्चामा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयाेगी हौं र बन्छाैं, तर यहानिर स्पष्ट हुन जरूरी छ- निर्णायक तपाईं हाे- तपाईं।
पार्टी एकताका लागि वातावरण निर्माण गर्नका लगि पार्टीका र भ्रातृ-शुभेच्छुक संस्थाका सबै तहका नेता साथीहरूलाई विशेष अनुराेध अनि अपिल छ। राष्ट्र रहे- बहुदलीय लाेतन्त्र रहन्छ- पार्टी रहन्छ- अनि त्यसमा हामी रहने ठाउँ रहन्छ नभए सबै खरानी हुन्छ- हामी सबैमा हेक्का रहाेस्। सामाजिक सञ्जालको दाेहाेरी र गाली गलाेजले कहिँ पुगिँदैन, याे प्रवृत्ति सबै लागेर बन्द गराैं।