सत्तारूढ रास्वपा सांसदसमेत रहेका महामन्त्री विपिनकुमार आचार्यले संसदीय सुधार समिति गठनको माग गरेका छन्।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसदीय सुधार समिति गठन गर्न सभामुखसमक्ष ध्यानाकर्षण गराएका हुन्।
संसदलाई कसरी सिर्जनात्मक बनाउने भन्ने विषयमा संसदीय सुधार समितिले काम गर्ने उनको भनाइ छ।
‘मैले धेरै पटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भनेर बोलेको छु, हामी सांसदहरू अहिलेको संसदीय अभ्यासबाट खुसी छौं? एउटा सर्वेक्षण गरौं, के हाम्रो क्षमता अहिलेको अभ्यासले सही दिशामा निकालेको छ त?,’ उनले प्रश्न गरे, ‘यदि छ भने मलाई समस्या छैन। तर मेरोजस्तै बुझाइ धेरै जना सांसदको हो भने संसदीय अभ्यास सुधार्न सबै मिलेर काम गर्नुपर्छ। एउटा संसदीय सुधार समिति बनाएर काम गर्नुपर्छ भन्ने लाग्छ, सभामुखको ध्यानाकर्षण गराउँछु।’