प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले बालेन शाहले राष्ट्रकोफ नाममा सम्बोधन गर्दा पनि आधिकारिक सरकारी सञ्चार माध्यमबाट नगरेको आरोप लगाएको छ।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा एमाले सांसद निता घतानीले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन पनि आधिकारिक सरकारी च्यानलबाट भन्दा मनिटाइज भएको फेसबुक अकाउन्टबाट आउने गरेको भन्दै विरोध जनाएकी छन्।
'प्रधानमन्त्रीज्यू राष्ट्रलाई सम्बोधन गर्नुभएको हो कि आफ्नो फेसबुक पेजको भ्युज र मनिटाइजेसन बढाउनुभएको हो?,' उनले भनिन्।
डिजिटल सरकार र प्रविधिको प्रयोग ठिक भए पनि आधिकारिक संस्था बाइपास गर्न नमिल्ने उनले बताइन्।
'फेसबुकको भ्युजबाट देश चलाउने होइन। देश फेसबुकको पहुँचले होइन संविधान र राज्यको संस्थाले चलाउनुपर्छ,' उनले भनिन्।
सांसद घतानीले कर तिर्नेलाई पुरस्कृत गर्ने सरकारको नीतिको प्रशंसा पनि गरिन्।
'तर कर तिर्ने नागरिकलाई पुरस्कार दिने सरकारले यही देशमा स्वास्थ्य बीमा बन्द भएर उपचार नपाएका निम्न वर्गका नागरिक किन देख्दैन?,' उनले भनिन्।
उनले ग्यास अभावबाट उपभोक्ता र मल अभावबाट किसानलाई परेको समस्या समाधान गर्न पनि माग गरिन्।
'स्वास्थ्य बीमा प्रभावकारी बनाइयोस्। सहकारी पीडितको बचत गरियोस्। युवालाई रोजगारी र व्यापारीलाई सुरक्षित व्यवसायको वातावरण बनाइयोस्। राहदानी, लाइसेन्स, अस्पताल र सरकारी कार्यालयको लाइन अन्त्य गरियोस्,' उनले भनिन्।
एमालेले प्रधानमन्त्री बालेनले सीमा सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्ति पनि संसदको रेकर्डबाट हटाउन माग गरेको छ।
'सीमा राजनीतिक मजाक होइन। भुगोल, सार्वभौमसत्ता, स्वाभिमान, पुर्खाले जोखाएर हामीलाई सुम्पिएको नेपाली अस्तित्व हो,' उनले भनिन्।
त्यसकारण सत्तापक्षका सांसदहरूले पनि गलत अभिव्यक्तिको बचाऊ भन्दा नेपालको भूगोलको पक्षमा उभिनुपर्ने उनले बताइन्।
संसदको रेकर्डबाट नहटाइएकै कारण एमालेले विरोध जनाइराख्नुपरेको सांसद घतानीको भनाइ छ।
'संसद जिम्मेवार ढंगले चलोस् भन्ने चाहन्छौं। जनताको समस्या उठाउन चाहन्छौं। तर नेपालको भूगोल र सार्वभौमसत्ता जोडिएको विषयमा हामी मौन बस्न सक्दैनौं। संसदको रोस्ट्रमबाट आफ्नै देश नेपालले पनि भारतको सीमा मिचेको थियो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने प्रधानमन्त्री पनि यो देशले देखेको थियो भन्ने इतिहास अभिलेखमा रहनेछ। यस्तो इतिहास बनाउन चाहँदैनौं,' उनले भनिन्।