स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको योजना यथावत् रहेको स्पष्ट पारेकी छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जबाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्यत्र सार्न नखोजेको स्पष्ट पारेकी हुन्।
मन्त्री मेहताले ढल्केबरमा तत्काल ट्रमा सेन्टर स्थापना गर्न आवश्यक पूर्वाधार नरहेको कारण लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा सेवा सञ्चालन गर्ने कार्य अघि बढेको जानकारी दिइन्।
उनले तत्काल दुर्घटनामा घाइते हुनेहरू काठमाडौं आउन नपरोस् भनेर लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा सेवा सुरू गर्न लागिएको जानकारी दिइन्।
उनले लहान अस्पतालमा सिटी स्क्यान, चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त चाप तथा ब्लड बैंकको व्यवस्था रहेकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्न सकिने बताइन्।
सडक दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न देशका सबै भागमा समयमै ट्रमा उपचार सेवा उपलब्ध गराउने सरकारको नीति रहेको बताए।।
सोही नीतिअनुसार प्रत्येक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने र आवश्यकताअनुसार ट्रमा युनिट सञ्चालन गर्ने योजना अघि बढाइएको उनको भनाइ छ।
उनले भनिन्, ‘सडक दुर्घटनामा परी गम्भीर घाइते भएका नागरिकहरूलाई उपचारका लागि काठमाडौं ल्याउपनुपर्ने बाध्यता अन्त्य गर्न देशका सबै भागमा समयमै ट्रमा उपचार उपलब्ध गराउने सरकारको नीति हो। सोहीअनुरूप देशका हरेक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने तथा आवश्यकता अनुसार ट्रमा युनिट विस्तार गर्ने योजना अघि बढाइएको छ। सम्माननीय सभामुख महोदय मेरो लागि देशका सबै नागरिक र सबै भूगोल समान छन्। स्वास्थ्य सेवा कुनै क्षेत्र विशेषको विषय होइन। नागरिकको मौलिक आवश्यकताको विषय हो। त्यसकारण मन्त्रालयले तत्काल सेवा दिन सकिने व्यवस्था र दीर्घकालिन पूर्वाधार निर्माण सँगसँगै अगाडि बढाइएको छ।’
उनले स्वास्थ्य सेवा कुनै क्षेत्र विशेषको विषय नभई नागरिकको मौलिक आवश्यकताको विषय भएकाले तत्काल सेवा विस्तारसँगै दीर्घकालीन स्वास्थ्य पूर्वाधार निर्माणलाई पनि सँगसँगै अघि बढाइरहेको बताइन्।
ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै सरकारको विरोध हुँदै आएको छ। –न्युज एजेन्सी नेपाल