राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशान्त वैदिकले डिडिसीको किसान बक्यौता घटेको विषयमा सरकारसँग जबाफ मागेका छन्।
बक्यौता ७२ करोडबाट ३५ करोडमा झर्नु अर्थ मन्त्रालयले पैसा दिएर भएको भन्ने कांग्रेस सभापति गगन थापाको दाबीबारे उनले तथ्य मागेका हुन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै वैदिकले थापाको दाबीमा कति सत्यता छ भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए।
‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले भन्नुभएको रहेछ– डिडिसीको ७२ करोडको बक्यौता ३५ करोडमा झर्यो भनेको कमाएर होइन, यो अर्थ मन्त्रालयले पैसा दिएर भएको हो,’ वैदिकले भने, ‘यो कुरामा के कति सत्यता छ, नेपाल सरकारले प्रष्ट पारिदिन आग्रह गर्दछु।’
थापाले आइतबार डिडिसीको बक्यौता घटेको विषयमा प्रश्न उठाएका थिए।
उनले बक्यौता ७२ करोडबाट ३५ करोड रुपैयाँमा झर्नु डिडिसीको आम्दानीका कारण नभई अर्थ मन्त्रालयले रकम दिएका कारण भएको दाबी गरेका थिए।