राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को 'हामी सुन्छौं' अभियानको पहिलो दिन २५ जनाले आफ्ना समस्या तथा गुनासा सुनाउन आएका छन्।
सोमबारदेखि काठमाडौं, वनस्थलीस्थित पार्टी कार्यालयमा सुरू भएको कार्यक्रममा गुनासा सुन्न सांसद अंकिता ठाकुर र केन्द्रीय सदस्य अंकित यादव तोकिएका थिए।
आज २५ जनाले आफ्नो गुनासा लिएर पार्टी कार्यालय आएको केन्द्रीय सदस्य यादवले जानकारी दिए।
'आज पहिलो दिन भएर होला, २५ जना आउनुभयो। तत्कालै समाधान हुन सक्ने दुई–तीन वटा समस्या समाधानका लागि पहल गरिदियौं। अरू सबै अभिलेख राखेका छौं। यसमा भोलि छलफल गरेर समाधान हुन सक्ने जति गर्छौं।'
नागरिकता, राष्ट्रिय परिचयपत्र, सहकारी, लेनदेन र जग्गा सम्बन्धी गुनासा लिएर मानिसहरू रास्वपा कार्यालय आएका थिए।
लिखित रूपमा पनि गुनासा लेखेर दिन भनेको सांसद ठाकुरले बताइन्।
'हामीले गुनासा लेखेरै दिनुहोस् भनेका थियौं। सबै राखेका छौं। अब भोलि कसरी समाधान गर्ने? कुन कुन निकायमा ती गुनासा पठाउने भनेर छलफल गर्छौं,' उनले भनिन्।
उनका अनुसार मन्त्रालयको भए मन्त्रालय, अरू निकाय भए अरू निकायमा ती गुनासा पठाएर समस्या समाधान गरिदिन पहल गरिनेछ। आफूहरूलाई थाहा नभएका कतिपय कुरा पार्टी महामन्त्री लगायत नेताहरूसँग पनि सल्लाह–छलफल गर्ने उनले बताइन्।
जस्तै, सोमबार राष्ट्रिय परिचयपत्र बनाउन जाँदा लालपुर्जा माग्यो भन्दै एक जना पाको उमेरकी महिला गुनासो लिएर पुगेकी थिइन्। त्यो उनीहरूले तुरून्तै जिल्ला प्रशासन कार्यालयमा कुरा गरेर समाधानको पहल गरे।
'तर अर्को ५० वर्षअघि सरकारले आफ्नो जग्गा सार्वजनिक गरिदिएको समस्या लिएर इलामबाट एक जना आउनुभएको थियो। त्यस्तै जागिर खोजिदिन भन्दै एकजना अपांगता भएकी व्यक्ति आउनुभएको थियो। मधेसका कार्यकर्ताहरू संगठनको समस्या लिएर आउनुभएको थियो। यस्ता कुरा कसरी समाधान गर्ने भनेर हामी भोलि छलफल गर्छौं,' सांसद ठाकुरले सुनाइन्।