नेपाली कांग्रेसले खाना पकाउने ग्यासको विकल्पमा बिजुली प्रयोगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताएको छ।
जारी केन्द्रीय समिति बैठकमा कांग्रेसले जनजीविकाका सवालमा छलफल गरेको थियो।
छलफलपछि प्रवक्ता देवराज चालीसेले सरकारले बिजुली प्रयोगमा प्रोत्साहन गर्नुपर्ने बताए।
‘नेपाली कांग्रेस ग्यासको विकल्पमा बिजुली प्रयोगलाई प्रोत्साहन गर्न, बिजुली खपतमा लगाइएका सबै प्रकारका अतिरिक्त करहरू तत्काल हटाउन, उपभोक्तालाई इन्डक्सन चुलो लगायतका उपकरणमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट तथा दीर्घकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न माग गर्दछ,’ केन्द्रीय समिति बैठकको निर्णयमा उल्लेख छ।
सिलिण्डरमा १४.२ केजी भर्नु पूर्व ग्यासको स्टक, आयात हुने परिमाण, आयात गर्न सकिने क्षमता, बजारको आवश्यकताको अध्ययन नगरि हचुवाको भरमा सस्तो लोकरिझाइँका लागि १४.२ केजी भर्न निर्देशन दिनुले सरकारको वचपन उजागर भएको कांग्रेसको भनाइ छ।
यस्ता विषयमा निर्णय लिनु पूर्व सरोकारवालाहरूसँग यथेष्ट छलफल गरि निर्णय लिनु पर्नेमा पूर्व तयारी नगर्दा मुलुकमा खाना पकाउने ग्यासको गम्भीर अभाव सिर्जना भई नागरिकले दुःख भोग्नु परिरहेको कांग्रेसको भनाइ छ। ‘ठोस योजना बिना हठात् १४.२ केजीको सिलिन्डर वितरण गर्ने ‘स्टन्टबाजी’ गर्दा बजारमा ग्यासको हाहाकार अझ बढेको छ। सरकारको यो अकर्मण्यता र दूरदर्शिताको अभावले गर्दा उपभोक्ताले अझै लामो समय सास्ती भोग्नु पर्ने जोखिम देखिएको छ,’ निर्णयमा उल्लेख छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटबढ भइरहने हुँदा विगतका सरकारहरूले आन्तरिक बिजुली खपत बढाउँदै ग्यासको प्रयोगलाई क्रमशः विस्थापन गर्ने स्पष्ट नीति लिएको उल्लेख गर्दै कांग्रेसले सोही अनुरूप उपभोक्तालाई इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरणमा सहुलियत दिने प्रणाली लागू गरिएको बताएको छ।
‘तर, वर्तमान सरकारले विद्युत् खपतमा समेत विभिन्न शीर्षकमा कर थपेर ग्यासको साटो स्वच्छ ऊर्जा (विद्युत) प्रयोग गर्ने नागरिकको प्रयासलाई पूर्णतः निरुत्साहित बनाएको छ।तसर्थ, नेपाली कांग्रेस ग्यासको विकल्पमा विद्युत्को प्रयोगलाई प्रोत्साहन गर्न, विद्युत् खपतमा लगाइएका सबै प्रकारका अतिरिक्त करहरू तत्काल हटाउन, उपभोक्तालाई इन्डक्सन चुलो लगायतका उपकरणमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट तथा दीर्घकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न माग गर्दछ,’ निर्णयमा उल्लेख छ।
साथै सरकारको असक्षमताका कारण यातायात क्षेत्र अस्तव्यस्त बनेको र बजारमा बिचौलियाको बिगबिगी बढेको कांग्रेसको भनाइ छ। ‘यसबाट एकातिर आम उपभोक्ता चरम महँगीको मारमा परेका छन् भने अर्कोतिर साना तथा मझौला किसानले आफ्ना उत्पादनको उचित मूल्य र बजार पाउन सकेका छैनन्,’ निर्णयमा उल्लेख छ, ‘मुख्य सिजनमा रासायनिक मल नपाउँदा किसानहरू अनौपचारिक बजारमा भौतारिन बाध्य छन्। मलको खोजीमा भारतीय बजारसम्म पुग्दा कतिपय नेपाली किसानले महिनौं जेल सजाय भोग्नु परेको दुःखद यथार्थ सर्वविदितै छ। बाँकी किसानले पनि चर्को मूल्य तिरेर कालोबजारीबाट मल खरिद गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।’
कांग्रेसले किसानहरूलाई बाली लगाउने मुख्य सिजनमै सहजरूपमा अनुदानको रासायनिक मल उपलब्ध गराउन, कालोबजारी र बिचौलियाको अन्त्य गर्न, साना तथा मझौला किसानका उत्पादनले उचित बजार र समर्थित मूल्य पाउने ग्यारेन्टी गर्न तथा सीमावर्ती क्षेत्रका किसानहरूले भोग्नु परेको सास्तीको स्थायी समाधान गर्न सरकारसँग माग गरेको प्रवक्ता चालीसेले बताए।
सरकार जनजीविकाका वास्तविक समस्या समाधान छाडेर केवल सस्तो लोकप्रियता र प्रचारबाजीमा अल्झिएको कांग्रेसको आरोप छ।
‘ग्यासको अभाव, विद्युत्मा कर वृद्धि तथा आपूर्ति सञ्जालको फितलो व्यवस्थापनका कारण खाद्य सामग्री लगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। यसले गर्दा आम नागरिकको भान्सा असाध्यै महँगो बनेको छ। फलतः, सरकारले दिएका सुशासन, मूल्य नियन्त्रण र नागरिकका समस्या समाधान गर्ने ठूला–ठूला नारा तथा बाचाहरू पूर्ण रूपमा असफल सिद्ध भएका छन्,’ कांग्रेसको भनाइ छ।
प्रचारबाजी र सस्तो लोकरिझ्याइँको पछि नलागी बजारमा दैनिक उपभोग्य वस्तुको अनियन्त्रित मूल्यवृद्धि रोक्न, आपूर्ति व्यवस्थालाई प्रभावकारी र पारदर्शी बनाउन, बजार अनुगमनलाई तीव्र पार्न र आम नागरिक, किसान, मजदुर तथा भुइँमान्छेको जीविकोपार्जन सहज बनाउने गरी ठोस राहतका कार्यक्रम ल्याउन कांग्रेसले सरकारसँग माग गरेको छ।