नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना हुने बताएका छन्।
भेला स्थगित भएको भन्दै सामाजिक सञ्जालमा नक्कली पत्र पोस्ट भइरहेकोतर्फ लक्ष्य गर्दै उनले कुनै भ्रममा नपर्न आग्रह गरेका छन्।
‘राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने कुरा सुनिश्चित छ,’ उनले भने, ‘कुनै भ्रममा नपर्न अनुरोध गर्दछौं।’
उनकाअनुसार पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्व र शीर्ष नेताहरूको समर्थनमा भेला हुनेछ।
भेलामा पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने उनको भनाइ छ। देउवा साउन २८ गते स्वदेश फर्कने कार्यक्रम छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोइरालाको नेतृत्वमा नेताहरू पुगेर देउवालाई स्वागत गर्ने तयारी छ।
गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेकाहरूले प्रदेश भेलाहरू सकेर राष्ट्रिय भेला गर्न लागेका हुन्।