श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्क साम्पाङले कोर्रा लगाउने कानुन बनाउन प्रस्ताव गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा सांसद साम्पाङले मन्दिर र गुम्बा भत्काउने र मस्जिदमा आगो लगाउनेलाई कारबाही गर्नुपर्ने बताएका हुन्।
'भर्खरै देशमा थुप्रै मस्जिदमा आगो लगाइयो। मदरसामा आगो लगाइयो। कहिले गुम्बा तोडिन्छन्। मन्दिर भत्काइन्छन्। कहिले माङखिम तोडिन्छन्। सरकारले कमजोर भएका कारण त्यो हुन्छ। सरकारले कारवाही नै गर्न सक्दैन', साम्पाङले भने, 'मेरो तेरो नभनी फटाहाहरुलाई कर्याप झ्याप पारेर हानौँ न कोर्रै कोर्राले। त्यस्तो कानुन बनाऊँ। यहि हो कानुन बनाउने ठाउँ। यसो लैजाने मायाले छानिबन गर्ने सोधपुछ गर्ने अनि सेटिङमा निस्केर हुन्छ। हुँदैन।'
साम्पाङले मुलुकमा भएको बेथिति नष्ट गर्नुपर्ने पनि बताए।
'पुस्तौं पुस्तादेखि यहि देशमा बसेको मान्छेको स्वामित्व छैन। अहिले भूमि सुधार व्यवस्था मन्त्रीले 'स्थानीय तहले गर्न दिएनन्' भन्नुहुन्छ', साम्पाङले भने, 'धनीपुर्जा दिन कुन स्थानीय तहले रोक्छ। हामी छौँ। सुकुमबासीले धनी पुर्जा पाएन भन्नेमा नाटक गरेको छ। गीत गाएको छ। दिनुहोस्, भकाभक दिनुहोस्। कसले रोकछ। कांग्रेस, एमाले, नेकपा कसले रोक्छ? हामी रोक्दैनौँ,' उनले भने।
साम्पाङ बोलेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले नियमापत्ति गरिन्। उनले कोर्रा लगाउने मागमा विरोध जनाइन्।
'कोर्रा लगाउने, यातना दिनुहुन्न भन्ने कानुन ल्याउने व्यक्तिमा म पर्छु', रानामगरले भनिन्, 'बर्षौं एडभोकेसी गरेको हो।। जनतालाई कोर्रा लगाउने उपयुक्त शब्द भएन। ती शब्द सुधार्नुपर्यो। रेकर्डबाट हटाउन अनुरोध गर्दछु।’