राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले इन्टर्न डाक्टरहरूको दु:खलाई निजी र सरकारी भनेर विभेद गर्न नहुने बताएकी छिन्।
प्रतिनिधि सभाको बैठकमा सांसद धितालले मुलुकबाट डाक्टर पलायन भइरहेको अवस्थामा डाक्टरहरूलाई स्वदेशमा टिक्न सक्ने बनाउनुपर्ने आवश्यकता औंल्याइन्।
'एउटा विद्यार्थी एमबिबिएस पढेर निस्कँदा लाखौँ खर्च हुन्छ। इन्टर्न डाक्टरले निजी मेडिकल कलेजमा सददर दश हजार र सरकारी मेडिकल कलेजमा २४ हजार पेरिफेरी पाएको छ', धितालले भनिन्, 'निजी र सरकारी मेडिकल कलेजले एउटै मापदण्ड बनाउन त्यति प्राक्टिकल नहोला तर यति धेरै अन्तर हुनुपनि न्यायोचित होइन।'
उनले इन्टर्न डाक्टरको बीचमा विभेद हटाउन सरकार आफैले गरेको वाचा पूरा गर्नुपर्ने बताइन्।
'कम्तिमा दु:ख र अपमानलाई निजी र सरकारी नबनाऔं, इन्टर्न डाक्टरलाई कति तलब दिने भनेर स्पष्ट कार्यविधि बनाऔँ र कार्यान्वयनमा ल्याऔँ', धितालले भनिन्, 'निजी मेडिकल कलेज भन्छ सरकारले भनेको कुरा हामीले मानि राखेका छौँ। अनि सरकारले आफैँले गरेको वाचा पूरा गर्नु पर्दैन?'