नेपाली कांग्रेसका नेता शेखर कोइराला संस्थापनइतरले गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन्।
कोइरालाको सचिवालयले पत्रकारहरूलाई पठाएको जानकारीमा कोइराला राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको उल्लेख छ।
‘नेपाली कांग्रेसका नेता शेखर कोइराला साउन २९ गते आयोजना गरिएको भेलाको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ, त्यो कुनै पार्टी विभाजन गर्ने भेला नभएकोले उक्त भेलामा सहभागी भएर कोइरालाले पार्टी एकताकै लागि आह्वान गर्नुहुनेछ,’ कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने।
गत पुसमा कांग्रेसले विशेष महाधिवेशन गरेको थियो। विशेष महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा र नेता कोइराला पक्ष सहभागी भएका थिएनन्। त्यसपछि विशेष महाधिवेशनविरूद्ध सर्वोच्च अदालतमा देउवा र नेता पूर्णबहादुर खड्काले रिट दिएका थिए। उक्त रिट खारेज गर्दै सर्वोच्चले विशेष महाधिवेशनलाई मान्यता दिएको थियो।
त्यसविरूद्ध देउवा र खड्का फेरि अदालत गएपछि सर्वोच्चले पुनरवलोकन अनुमति दिएको छ। शेखर भने देउवा पक्षले आयोजना गर्ने कार्यक्रममा कहिले सहभागी हुन्छन् त कहिले सहभागी नहुने गरेका छन्।