राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले उद्योग मन्त्री गौरीकुमारी यादवलाई स्पष्टीकरण सोध्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेकी छिन्।
प्रतिनिधि सभाको आजको बैठकमा सांसद ओलीले मन्त्री यादव ग्यासको आपूर्ति प्रणाली सुधारभन्दा पनि आलोचना गर्ने व्यक्तिहरूलाई फोन गरेर ग्यास बाँड्ने काममा लागेको आरोप लगाइन्।
'उद्योग मन्त्री ग्यास बाँड्दै हिँड्नुभएको छ। फोन गरेर तपाईंको घरमा ग्यास छ भनेर सोध्दै हुनुहुन्छ। जनताहरू तातो घाममा, ग्यासको लाइनमा बसेको उहाँले देखिराख्नु भएको छैन', ओलीले भनिन्, 'के मन्त्रीको काम व्यक्ति व्यक्तिलाई ग्यास बाँड्दै हिँड्ने हो? कति जनालाई उहाँले फोन गर्न सक्नुहुन्छ? दश, बीस, तीस जना। हजारौँ, लाखौँलाई त फोन गर्न सक्नुहुन्न। उहाँको काम त यो प्रणालीलाई काम गराउने हो।'
सांसद ओलीले मन्त्री यादवले व्यक्तिगत तवरमा दया गरे जस्तो गरी दुई चार जनालाई ग्यास बाँडेर हिँडेको आरोप लगाइन्।
'व्यक्तिगत तवरमा दया दिएजस्तो दुई चार जनालाई ग्यास बाँडेर हिँडिराख्नु भएको छ। हामीले राज्यको दया होइन व्यवस्थापन खोजेका हौँ', ओलीले भनिन्, 'उहाँले विरोधमा कुन कुन मान्छेले लेखिराखेका छन्। उनीहरूको घरमा ग्यास पुर्याउँदै हुनुहुन्छ। यस्तो मन्त्रीलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्नुपर्छ।'
उनले मन्त्रीले राज्यको प्रणाली क्षयीकरण भन्दा पनि आपूर्ती प्रणाली सहजीकरण गर्न काम गर्नुपर्ने बताइन्।