नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्वसभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरुपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाएका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै महामन्त्री घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै अर्को पक्षले उनको नाममा आफ्नो राजनीतिक अस्तित्व स्थापित गर्न खोज्नु गलत भएको बताएका हुन्।
‘तपाईंलाई गोटी बनाएर, तपाईंको काँधमा बन्दुक राखेर र तपाईंको चरम दुरुपयोग गरेर नेपाली कांग्रेसलाई भताभुङ्ग पार्ने प्रयत्न भइरहेको छ,' उनले भने।
यसप्रति शतर्क रहन पनि उनले आग्रह गरे।
'जब आफ्नो केही गर्ने सामर्थ्य र तागत छैन, तब शेरबहादुर दाइलाई मोहरा बनाएर के गर्न खोजिँदैछ?,’ उनले भने।
उपचारका क्रममा देशबाहिर रहेका देउवाका नाममा भइरहेको गुटगत भेला र गतिविधिप्रति पनि महामन्त्री घिमिरेले आपत्ति जनाएका छन्।
बैठकमा नेता घिमिरेले पार्टीको महाधिवेशन र आन्तरिक सुदृढीकरणको विषयमा समेत धारणा राखे।
४८ दिनसम्म केन्द्री समितिको बैठक बस्दा पनि नियमित महाधिवेशनको तयारी हुन नसक्नु दुखद भएको उनको भनाइ।
उनले पार्टीभित्रको विवाद र निर्वाचन आयोगको प्रक्रियाका बारेमा स्पष्ट पार्दै घिमिरेले आयोगले दुवै पक्षसँग पर्याप्त छलफल गरेको दाबी गरे।
‘निर्वाचन आयोगले दुवै पक्षसँग लगातार छलफल गरेको अडियो र भिडियो रेकर्ड सुरक्षित छ । सुनुवाइको मौका नपाएको भन्ने आधारमा पुनरावलोकनको अनुमति दिनु तथ्यसँग मेल खाँदैन,' उनले भने।
कांग्रेस अब नयाँ नेतृत्व र ऊर्जासहित पुनर्गठनको दिशामा अघि बढेको बताउँदै घिमिरेले पार्टीलाई आधारभूत तहदेखि नै सुदृढ बनाइने दृढता व्यक्त गरे।
कांग्रेसको आगामी संघर्ष लोकतन्त्रको रक्षा र नयाँ पुस्ताको भविष्यका लागि भएको उनको भनाइ छ। –न्युज एजेन्सी नेपाल