राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिएका छन्।
बुधवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले ग्यासको सहज आपूर्ति तथा विक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
बैठकको शून्य तथा विशेष समयमा सदस्यहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको विषय उठाएका थिए।
‘शून्य समय र विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नुपरेको समस्या उठाइरहनुभएको छ । साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकाले सहज रूपमा ग्यासको आपूर्ति तथा विक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदछु,’ अध्यक्ष दाहालले भने।