नेकपा एमालेभित्र पार्टी पुनर्जागरण अभियान चलाइरहेको समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिएको छ।
पार्टीको साख जोगाउन र नयाँ गति दिनका लागि तत्काल केन्द्रीय कमिटीको बैठक बोलाई पराजयको मिहीन समीक्षा गर्न र संगठन पुनर्गठनको प्रक्रिया थाल्न माग गरिएको छ।
अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै पुनर्जागरण अभियानका नेताहरू गजेन्द्र थपलिया, रोशन बस्नेत, नवीना लामा लगायतले विभिन्न माग अघि सारेका छन्।
अभियानले यसअघि गठित कार्यदलले सातै प्रदेशका १३ क्लस्टरबाट सुझाव समेटेर तयार पारिसकेको पुनर्गठन प्रतिवेदन तत्काल सचिवालय र केन्द्रीय कमिटीमा पेस गरी सार्वजनिक गर्न माग गरेको छ।
त्यस्तै लामो समयदेखि महत्त्वपूर्ण निकायका बैठक नबस्दा कार्यकर्तामा निराशा छाएको भन्दै अविलम्ब केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने माग पनि अभियानको छ।
अभियानले चुनावी हारको आत्मसमीक्षा गर्दै पार्टीलाई नयाँ ढंगबाट पुनर्संरचना गर्न ठोस कार्ययोजना ल्याउन, आन्तरिक लोकतन्त्रको पुनर्वहाली गर्न, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर विधि, कमिटी प्रणाली र सामूहिक निर्णय प्रक्रियालाई व्यवस्थित बनाउन माग गरेको छ।
अभियानले अन्तर्राष्ट्रिय सम्बन्धमा आएको जटिलता र आम नागरिकको दैनिकी कष्टकर बन्दै गएको अवस्थामा पार्टीले आफ्नो भूमिकालाई पुनःपरिभाषित गर्नुपर्ने आवश्यकता औंल्याएको छ।