नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ।
कोशीमा मन्त्री रहेका कांग्रेस नेताहरूले बुधबार सामूहिक रूपमा मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका छन्।
कांग्रेस २०८१ भदौ २ गते कोशी प्रदेश सरकारमा सहभागी भएको थियो।
एमाले र नेकपाले साउन ९ मा प्रदेश सरकारहरू मिलेर चलाउन ३ बुँदे सहमति गरेपछि एमाले र कांग्रेसबीचको सहकार्य टुटेको थियो।
कांग्रेसका मन्त्रीहरू बाहिरिएपछि अब कोशी सरकारमा नेकपाको प्रवेश हुनेछ।
अहिले कोशीमा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सरकारमा थिए।
उनीहरूले सामूहिक राजीनामा मुख्यमन्त्रीलाई बुझाएका हुन्।