नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्कँदैछन्।
उनी हङकङबाट स्वदेश फर्किन लागेका हुन्।
थाइ एयरको विमानबाट उनी आज मध्याह्न १२:२५ बजे त्रिभुवन विमानस्थल अवतरण गर्ने नेता मीन विश्वकर्माले जानकारी दिए।
उनलाई कांग्रेसको इतर पक्षले विमानस्थलमा स्वागत गर्ने तयारी गरेको छ। त्यसका लागि ठूलो संख्यामा समर्थकहरू त्रिभुवन विमानस्थल पुग्ने तयारी छ।
देउवालाई स्वागतका लागि भेला हुनका लागि तीन स्थान तोकिएको नेता विश्वकर्माले जानकारी दिए।
त्रिभुवन विमानस्थल प्रवेश गर्ने गोल्डेन गेट अगाडिको खाली ठाउँ, नमस्ते गेट अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा समर्थकहरूलाई भेला हुन भनिएको छ।
देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। उनी भदौ २४ गतेको जेनजी आन्दोलनमा सांघातिक हमलामा परी घाइते भएका थिए।
सिंगापुरबाटै थप उपचारका लागि भनेर पत्नी आरजु राणा देउवासहित हङकङ पुगेका थिए।
उनले यसअघि नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत निकायलाई पत्र पठाउँदै आफू साउनभित्रै स्वदेश आउने जानकारी पनि गराएका थिए।
देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा भोलिदेखि ३१ गतेसम्म राष्ट्रिय भेला गर्न लागेका छन्।
भेलामा देउवा सहभागी हुने इतरपक्षको दाबी छ।