सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन्।
मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि साँझ ५ बजे प्रदेश सभाको बैठक बस्दैछ।
सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत असार ३१ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्।
संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधानअनुरुप उनले विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री शाहले सोही प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वानका लागि बुधबार नै प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए।
बुधबार सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सदस्य रहेका छन्।
तीमध्ये मुख्यमन्त्री शाह नेतृत्वको नेपाली कांग्रेसबाट १८, नेपाली कम्युनिस्ट पार्टीबाट सभामुखसहित २२, एमालेबाट ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना प्रदेशसभा सदस्य रहेका छन्।
सरकार गठन वा विश्वासको मतका पक्षमा २७ जना आवश्यक पर्छन्। हाल एक जना देश बाहिर र एक जना निलम्बनमा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेश सरकार बनाउन एमाले र नेकपाले यसअघि नै सहमति गरिसकेका छन्। जसअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति छ।