नेपाली कांग्रेस संस्थापनइतर पक्षले सञ्चालनमा ल्याएको काठमाडौंस्थित चुनदेवी सम्पर्क कार्यालयमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका लागि बेग्लै कोठा तय गरिएको छ।
कोठाअघि 'शेरबहादुर देउवा, सभापति' लेखिएको बोर्ड राखिएको छ।
स्वास्थ्य उपचार गरी ५ महिनापछि देउवा आज स्वदेश फर्केका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेता कार्यकर्ताहरूले बाजागाजासहित उनलाई चुनदेवी सम्पर्क कार्यालय पुर्याएका थिए।
सम्पर्क कार्यालय पुगेपछि देउवाले नेता कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन गरे भने उनका लागि तय गरिएको कोठामा पनि बसेर नेताहरूसँग कुराकानी गरेका थिए।
देउवाका लागि तय गरिएको कोठाको बाहिर 'शेरबहादुर देउवा सभापति' लेखिएको छ भने कोठाभित्र टेबलमा पनि सोही बेहोरा उल्लेख गरिएको छ। यसअघि देउवाले विज्ञप्ति जारी गर्दा शेरबहादुर देउवा भनेर मात्रै निकाल्ने गरेका थिए।
सम्पर्क कार्यालयमा देउवा र राष्ट्रिय भेला आयोजक समिति संयोजक पूर्वमहामन्त्री शशांक कोइरालाका लागि बेग्लाबेग्लै कक्ष छ।
गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएका थिएनन्। उनीहरूले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि गर्दै आएका छन्।
भोलिदेखि साउन ३१ गतेसम्म राष्ट्रिय भेला पनि आयोजना गरिएको छ।
विशेष महाधिवेशनविरूद्ध देउवा र नेता पूर्णबहादुर खड्काले पुनरवलोकन गर्न माग गरेकोमा हालै सर्वोच्च अदालतले अनुमति दिएको छ। अदालतले निस्सा दिएसँगै कांग्रेस विवाद फेरि सतहमा आएको छ।
आज देउवालाई स्वागत गर्न विमानस्थल पुगेका पूर्वमहामन्त्री शशांक कोइरालाले पनि ‘हाम्रो सभापति शेरबहादुर देउवा नै हुन्’ भनेका थिए। साथै उनले पार्टी एक गर्ने पक्षमा आफूहरू रहेको बताएका थिए।