नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलनका अगुवा एवं स्वर्गीय डा. देवेन्द्रराज पाण्डेको इच्छाअनुसार उनको परिवारले तीन वटा प्राज्ञिक तथा सार्वजनिक संस्थालाई कुल एक करोड रूपैयाँ दान गरेको छ।
पाण्डेको परिवारले मार्टिन चौतारी, नर्थ साउथ कलेक्टिभ्स र एक सार्वजनिक संस्थालाई उक्त रकम बराबरी भागमा हुने गरी प्रदान गरेको हो।
साउन २२ गते उनकी छोरी डा. प्रिनिति पाण्डेले हाँडीगाउँस्थित आफ्नै निवासमा सम्बन्धित संस्थाका प्रतिनिधिलाई भेटेर रकम हस्तान्तरण गरेकी हुन्।
प्रत्येक संस्थाले कुल रकमको एक तिहाइ अर्थात् करिब ३३ लाख ३३ हजार रूपैयाँ प्राप्त गरेका छन्।
पाण्डेले विशेषगरी नेपालको गरिबी न्यूनीकरण, समता, न्याय र मानवअधिकारसम्बन्धी अध्ययन तथा अनुसन्धानमा टेवा पुर्याउने उद्देश्यले यी संस्थालाई सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए।
तर पछिल्ला केही वर्ष उनको स्वास्थ्य अवस्था कमजोर रहँदै आएको थियो।
८७ वर्षको उमेरमा उनलाई प्राणघातक क्यान्सर भएको पत्ता लागेको थियो। रोग पत्ता लागेको केही महिनापछि साउन १ गते उनको निधन भएको थियो।
निधन हुनुअघि पाण्डेकै संलग्नतामा तयार पारिएको सहयोग घोषणासम्बन्धी वक्तव्यअनुसार, उनले आफ्नो जीवनभर अनुसन्धान र विकासमार्फत योगदान पुर्याएका क्षेत्र, विशेषगरी गरिबी न्यूनीकरण, समता, न्याय र मानवअधिकारको उन्नयनमा काम गर्ने संस्थालाई सहयोग गर्ने निर्णय गरेका थिए।
दानस्वरूप प्राप्त रकममध्ये मार्टिन चौतारी र नर्थ साउथ कलेक्टिभ्सले अनुसन्धानका काममा खर्च गर्नेछन्।
दुवै संस्थाका सञ्चालक समिति वा कार्यसमितिले उचित ठहर गरेका अनुसन्धान परियोजनामा रकम प्रयोग गर्न सक्नेछन्। ती अनुसन्धान गरिबी न्यूनीकरण, समता, न्याय तथा मानवअधिकार प्रवर्द्धनको व्यापक उद्देश्यसँग सम्बन्धित हुनेछन्।
त्यसैगरी सार्वजनिक संस्थालाई दिइएको रकम सीमान्तकृत समुदायका गरिब परिवारका बालबालिका तथा युवाको शैक्षिक अवसर विस्तार गर्ने गतिविधिमा प्रयोग गरिने जनाएको छ।
पाण्डेको इच्छाअनुसार दानबाट प्राप्त रकमको परिचालन वा त्यसबाट सञ्चालन हुने कार्यक्रमसम्बन्धी कुनै पनि निर्णयमा दाता तथा उनको परिवार संलग्न हुने छैनन्।