राष्ट्रिय स्वतन्त्र पार्टीले रोल्पाको पहिरोमा परेर ज्यान गुमाउने ७ जनाको निधन र ५ बेपत्ता भएको घटना सुनेर आफू मर्माहत भएको जनाएको छ।
घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै रास्वपाले बेपत्ताहरूको प्रभावकारी खोजी कार्यका लागि सरकारको ध्यानाकर्षण पनि गराएको छ।
महामन्त्री विपिन आचार्यले बिहीबार जारी गरेको विज्ञप्तिमा बाढी पहिरोले ठूलो क्षति पुर्याएको कठिन परिस्थितिमा पनि उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीय नागरिकको प्रयासलाई तारिफ गरिएको छ।
‘सह्रानीय छ, तर राज्यको दायित्व यतिमा मात्र सीमित हुनु हुँदैन,’ यति भन्दै विज्ञप्तिमा सरकारलाई विपत परेपछि मात्र तात्ने पुरानो प्रवृत्ति नदोहोर्याउन सम्झाएको छ।
‘विपद् आइसकेपछि मात्रै राज्य संयन्त्र तात्ने र पूर्व तयारीमा सधैं चुक्ने पुरानो परम्परागत तथा फितलो कार्यशैलीकै कारण आम नागरिकले बर्सेनि यसरी नै ज्यान गुमाउनु परिरहेको तथ्यबाट पाठ सिकेर विपद् जोखिम न्यूनीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार अझ बढी जिम्मेवार र जबाफदेही बन्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै रास्वपा तीनै तहका सरकार (संघ, प्रदेश र स्थानीय) लाई विपद्को पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन, जोखिमयुक्त बस्तीहरूको पहिचान गरी सुरक्षित स्थानान्तरण गर्न र प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र निःशुल्क उपचारको व्यवस्था मिलाउन समन्वयकारी भूमिकामा बसेर काम गर्न आग्रह गर्दछ।’
विपदको घडीमा राज्य नागरिकको अभिभावक बन्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ।
‘विपद्को यस घडीमा राज्य आफ्ना नागरिकको अभिभावक बनेर उभियोस्, रास्वपा सदैव प्रभावित क्षेत्रका नागरिकको साथमा छ,’ विज्ञप्तिमा उल्लेख छ।
पार्टी संयन्त्रलाई देशैभर विपत् पूर्वको तयारी र विपद् पछाडिको कार्यमा राज्यका संयन्त्रहरूलाई सघाउन चौबीसै घण्टा तयार रहन पनि रास्वपाले अनुरोध गरेको छ।