नेपाली कांग्रेसले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएको, पत्रिकाको कार्यालयमा खानतलासी गरिएको तथा अदालतमा उपस्थित गराउँदा हत्कडी लगाइएको घटनाप्रति आपत्ति जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकले पत्रकार श्रेष्ठमाथि भएको व्यवहारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा लिएको छ।
राज्य संयन्त्रले संवैधानिक विधि र स्थापित प्रक्रियालाई पन्छाएर पत्रकार पक्राउ गर्ने, सञ्चारगृहमा खानतलासी गर्ने र हत्कडी लगाउने कार्य पूर्णतः गलत र अवाञ्छित भएको ठहर कांग्रेस बैठकको छ।
कांग्रेसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफू दृढतापूर्वक उभिँदै आएको उल्लेख गर्दै सञ्चारमाध्यमसम्बन्धी कानुन र आचारसंहिताका आधारभूत मूल्य–मान्यताको पालना हुनुपर्नेमा आफू स्पष्ट रहेको जनाएको छ।
प्रवक्ता देवराज चालिसेका अनुसार बैठकको निर्णयमा भनिएको छ, ‘कसैले कानुन विपरीत कार्य गरेमा प्रचलित कानुनबमोजिम अनुसन्धान र कारबाही हुनुलाई स्वाभाविक मान्न सकिए पनि संवैधानिक विधि र स्थापित प्रक्रियालाई पन्छाएर प्रहरी प्रशासन सोझै पत्रकार पक्राउ गर्ने, कार्यालय खानतलासी गर्ने र हत्कडी लगाउनेसम्मको तहमा उत्रनु पूर्णतः गलत र अवाञ्छित छ।’
कांग्रेसले श्रेष्ठमाथिको कारबाहीलाई स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने प्रयासका रूपमा समेत व्याख्या गरेको छ।
‘नेपाली कांग्रेस यस घटनालाई स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गरी नागरिकको सुसूचित हुने मौलिक अधिकार कुण्ठित गर्ने राज्यको नियतका रूपमा लिन्छ,’ कांग्रेसले विज्ञप्तिमा भनेको छ।
कांग्रेसले हालै सार्वजनिक लेखा समितिमा सत्तारूढ दलका सांसदहरूले प्रदर्शन गरेको अमर्यादित तथा असंसदीय व्यवहारप्रति पनि गम्भीर असहमति जनाएको छ।
संसद् तथा विषयगत समितिहरू लोकतन्त्रका मन्दिर भएको भन्दै कांग्रेसले त्यहाँ जनप्रतिनिधिले प्रयोग गर्ने भाषा, शैली र व्यवहार अनुशासित, शिष्ट र मर्यादित हुनुपर्नेमा जोड दिएको छ।
‘कुनै पनि आरोप वा दाबी तथ्य र विधिसम्मत हुनुपर्ने’ भन्दै कांग्रेसले ‘राजनीतिक संरक्षणका आधारमा कसैलाई उन्मुक्ति दिने तथा पूर्वाग्रहका आधारमा कसैको चरित्रहत्या गर्ने दुवै प्रवृत्ति लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको’ उल्लेख गरेको छ।
कांग्रेसले आफ्ना सम्पूर्ण सांसदहरूलाई संसद् र संसदीय समितिको उच्च मर्यादा कायम राख्दै उत्तरदायी भूमिका निर्वाह गर्न निर्देशनसमेत दिएको छ।
‘व्यक्तिगत वा दलीय आवेगभन्दा माथि उठेर सुशासन, पारदर्शिता, जनजीविका र अधिकारका सवालमा तथ्यमा आधारित भई संसद्मा खरो र जिम्मेवार रूपमा प्रस्तुत हुन नेपाली कांग्रेस प्रतिबद्ध छ,’ बैठकको निर्णयमा भनिएको छ।
कांग्रेसले रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबाडामा पहिरोमा परी भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
बैठकले विपत्तिमा परेका परिवारलाई उचित राहत तथा पुनर्वासको व्यवस्था गर्न, घाइतेहरूको उपचार गर्न र बेपत्ताको खोजी कार्य तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा १८ जना नेताले आ–आफ्नो धारणा राखेका छन्। छलफल जारी रहेकाले बैठक शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ।
आजको बैठकमा केन्द्रीय सदस्य एवं संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित लक्ष्मी परियार, प्रतिमा गौतम, प्रा.डा. गोविन्दराज पोखरेल, हिमालय कर्माचार्य, दिपनकुमार श्रेष्ठ, लीलादेवी बोखिम लिम्बू, छन्दबहादुर पहराई मगर, मथुराप्रसाद घिमिरे, रामबहादुर कार्की, रामदेवी खड्का, शिवनारायण सिं गनगाइँ, शिवबहादुर सुनार, अष्टकुमार कवे, छायाँ सुनार, निपा चोखाल, सुनिताकुमारी राना र केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले धारणा राखेका थिए।