स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदीखोलाले मोटरसाइकलसहित एक युवकलाई बगाएको छ।
मोटरसाइकलमा सवार अर्का युवक भने सकुसल छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गए राति अरौदीखोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको थियो।
मोटरसाइकलको पछाडि सवार पुतलीबजार नगरपालिका–३ पुतलीखेतका १७ वर्षीय समिप शाही फेला परेका छन्।
मोटरसाइकल चालक पुतलीबजार नगरपालिका–३ बाडखोलाका २१ वर्षीय सलिम मगर भने मोटरसाइकलसहित खोलाले बगाएको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बगाएको मोटरसाइकल ग ११ प ८१८३ नम्बरको हो। उक्त मोटरसाइकल शुक्रबार बिहान घटनास्थलबाट करिब १०० मिटर तल खोलामा फेला पारिएको छ।
मोटरसाइकल फेला परे पनि मगर अझै फेला परेका छैनन्। उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार खोलामा बेपत्ता भएका मगरको खोजी कार्य जारी छ।