सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा मुद्दा चलाउन माग गरिएको रिटमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालसँग लिखित जबाफ माग गरेको छ।
बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले लिखित जबाफ माग गर्ने आदेश गरेको हो।
विपक्षीहरूलाई सूचना म्याद पाएको मितिले १५ दिनभित्र जबाफ पेस गर्न आदेश भएको छ।
‘... प्रत्यर्थीहरू मध्येका माधवकुमार नेपाल र बाबुराम भट्टराईको हकमा आफै वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जबाफ पेस गर्नुहोला भनी प्रस्तुत आदेश रिट निवेदनको एक-एक प्रति नक्कल समेत साथै राखी प्रत्यार्थीहरूका नाममा सूचना म्याद जारी गर्नू,’ आदेशमा भनिएको छ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दुई पूर्वप्रधानमन्त्रीहरू भट्टराई र नेपालमाथि पनि मुद्दा चलाउन माग गर्दै २०८१ फागुन ८ गते रिट दायर गरेका थिए।
उनले दुवै पूर्वप्रधानमन्त्री, काठमाडौं जिल्ला अदालत, सरकारी वकिलको कार्यालय काठमाडौं, पूर्वमुख्य सचिव लिलामणि पौडेल, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ता कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई विपक्ष बनाएका थिए।
उक्त रिटमा सुनुवाइका लागि साउन २१ गते पेसी तोकिएको थियो।
त्यतिबेलै हेर्दाहेर्दैमा राखिएको मुद्दालाई बिहीबारको इजलासले आदेश गरेको हो।