नेपाली कांग्रेस भक्तपुर कार्यसमिति सभापति दुर्लभ थापाले पार्टी केन्द्रीय कार्यालय सानेपा कब्जा गर्न जाने अभिव्यक्ति दिएका छन्।
संस्थापनइतर पक्षले आज काठमाडौंमा गरेको राष्ट्रिय भेलामा बोल्दै उनले यो भेला पार्टीलाई एकताबद्ध बनाउन आयोजना गरिएको पनि दाबी गरेका थिए।
‘पार्टी एकताबद्ध बनाउन यो भेला गरिएको हो। हामी सानेपा कब्जा गर्न जाँदैछौं,’ उनले भने, ‘७५ प्रतिशत क्रियाशील सदस्य हाम्रो पक्षमा छन्, उनीहरू नै पार्टीको जरा हुन्।’
उनले १५ औं महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने पनि बताए।
‘१५ औं महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ, युवाको हविगत के हुन्छ, भृकुटीमण्डपमा सिठ्ठी र ताली बजाएर आएका परजीविहरू सानेपामा छन् उनीहरूको के हुन्छ, हेरौंला,’ उनले भने।
उनले क्रियाशील अद्यावधिकबारे पनि प्रश्न गरे। आफूले भक्तपुरका १२ हजार जनाको क्रियाशील नवीकरण गरिसकेको उनको भनाइ छ।