नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले 'बदलिएको कांग्रेस २.o' भित्र आफू नपर्ने बताएका छन्।
संस्थापनइतरले आज काठमाडौंमा गरेको राष्ट्रिय भेलामा सहभागी रहेका उनले अग्रजको बाटो भुल्ने २.o कांग्रेसको पक्षमा आफू नरहेको बताए।
‘जिम्मेवार र एकताको बाटोमा जानुपर्ने कारण राष्ट्रिय भेला आयोजना भएको हो। २०४६ को आन्दोलनका बेला चाक्सीबारीमा नेता सुरक्षा संयोजक रहेको थिएँ म। त्यसबेला बम्बई पनि गएर आन्दोलन गरिएको थियो, यो कुरा सानेपामा हुनेहरूलाई के ज्ञान?,’ उनले भने, ‘यो संघर्ष नै संघर्षको बथान हो। २.० कांग्रेसभित्र म पर्दिनँ, बाध्यतात्मक पर्ने हो भने म कांग्रेस हुने छैन। बिपीदेखि शेरबहादुरसम्मको कांग्रेसको अन्त्य र नयाँ व्यक्तिको सुरूवात गर्ने २.० को पक्षमा म छैन।’
उनले एकताका लागि कति कुर्नुपर्ने भन्दै नेताहरूलाई प्रश्न पनि गरे।
उनले राजनीति क्षमताले गर्ने हो भन्दै कार्यकर्ताको मन जित्नुपर्ने बताए। ‘सीमित हनुमानलाई बोकेर हुँदैन,’ उनले भने।