नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्काले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई चोइटिएर गएको कांग्रेस भन्ने टिप्पणी गरेका छन्।
आज संस्थापनइतरले काठमाडौंमा गरेको राष्ट्रिय भेलामा बोल्दै उनले विशेष अधिवेशनबाट आएको कांग्रेस सच्चा कांग्रेस भएको भए नेताहरूलाई टिकटबाट बञ्चित नगर्ने पनि उल्लेख गरे।
‘चोइटिएर गएको कांग्रेसले मुलुक थेग्न सक्दैन। सच्चा र सत्य कांग्रेस भएको भए सधैं निर्वाचित नेताहरूलाई टिकट नदिने भन्ने हुँदैनथ्यो, घरमा आगो लगाएर, कुटेर नेतृत्वबाट सत्ता लुटेर लैजान पाइँदैन। यो अपराध क्षम्य हुन्छ?,’ उनले भने।
शेरबहादुर देउवा स्वदेश फर्किदा विमानस्थलमा र राष्ट्रिय भेलामा उपस्थितिले विशेष महाधिवेशनबाट आएको कांग्रेसलाई झापड दिएको पनि उनको भनाइ थियो।
‘यो भेलाले झापडको रूपमा दण्डित गरिसकेको छ। सानेपा खाली गरेर पार्टी कार्यालय किस्तीमा राखेर यी नेतागणलाई बुझाए मिल्ने कडीका रूपमा लिन सकिन्छ,’ उनले भने।