नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले शेरबहादुर देउवालाई सभापतिभन्दा माथि उठेर भूमिका खेल्न आग्रह गरेका छन्।
संस्थापनइतर पक्षले आज गरेको राष्ट्रिय भेलामा बोल्दै गच्छदारले पार्टी एकताको पीडा आफूले बुझेको उल्लेख गर्दै त्यसको साक्षी देउवा पनि रहेको सन्दर्भ जोडेर सभापतिभन्दा माथि रहेर भूमिका खेल्न आग्रह गरेका हुन्।
नेपाली कांग्रेस विभाजन भएर देउवाको नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन हुँदा गच्छदार महामन्त्री थिए। सोही प्रसंगमा उनले उक्त कुरा बोलेका थिए।
‘कांग्रेसले एकता खोजेको छ यसलाई चानचुने नठानियोस्,’ गच्छदारले भने, ‘म कुनै गुटमा सामेल छैन। विभाजको पीडा भोगेको छु। शेरबहादुरजीको काँधमा ठूलो जिम्मेवारी आएको छ। दुषित राजनीतिलाई कसरी दलदलबाट निकाल्नुहुन्छ? आफूभन्दा माथि उठ्नुपर्यो। सभापतिभन्दा माथि उठ्नुपर्यो।’
उनले विशेष महाधिवेशनबाट आएका सभापति गगन थापालाई पनि एकताका लागि भूमिका खेल्न आग्रह गरेका थिए। ‘गगनजीलाई पनि सन्देश छ, यसरी हुन्न। सानेपामा कुर्सीमा बसेर मात्र हुन्न, भावनात्मक कुरा पनि बुझ्नुपर्छ,’ उनले भने।