नेपाली कांग्रेस संस्थापन इतर पक्षको जारी राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नउभिने बताएका छन्।
काठमाडौँमा आयोजित इतर समूहको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उनले वर्तमान समय र जनचाहना अनुसार कांग्रेसलाई परिमार्जन गर्दै अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
पार्टीभित्र देखिने आन्तरिक मतभेद र विवादलाई आपसी छलफल तथा संवादका माध्यमबाटै सल्टाउन सकिने उनको भनाइ थियो।
आगामी १५औं महाधिवेशनबारे बोल्दै उनले शेखर कोइरालासँग आफ्नो समन्वय रहेको बताए। सभापति पदका लागि शेखर अघि बढेको खण्डमा उनलाई पूर्ण समर्थन रहने संकेत समेत उनले गरे।
‘म आफू पनि सभापतिको आकांक्षी भए पनि कार्यकर्ता तथा साथीभाइको सल्लाह र सुझावका आधारमा मात्र अन्तिम निर्णय लिनेछु,’ उनले भने ‘शेखर दाइ अघि बढ्नुभयो भने म सहयोग गर्छु।’