नेपाली कांग्रेसको संस्थापनइतर पक्षको भेलामा नेता प्रकाशशरण महतले प्रजातान्त्रिक समाजवादको मुख्य लक्ष्यलाई कायम गर्दै निजी क्षेत्रलाई अर्थतन्त्रको नेतृत्वदायी भूमिका दिनुपर्ने आर्थिक कार्यदिशा अघि सारेका छन्।
राष्ट्रिय भेलाको बन्दसत्रमा प्रस्तुत महतले प्रस्तुत गरेको ‘नेपाली कांग्रेसको आर्थिक–सामाजिक नीतिको कार्यदिशा’ शीर्षकको प्रतिवेदनमा राज्यलाई नियन्त्रक नभई उत्प्रेरक र नियमनकारी भूमिकामा सीमित राख्नुपर्ने उल्लेख छ।
महतले अघि सारेको कार्यदिशामा उद्योगी–व्यवसायीलाई धितोका आधारमा मात्र नभई परियोजनाको सम्भाव्यता हेरेर बैंकबाट ऋण उपलब्ध गराउने नीति लिनुपर्ने उल्लेख छ।
लगानी आकर्षित गर्न व्यावसायिक कानुनहरूलाई गैर–अपराधीकरण गर्दै जरिवानामा आधारित नियमनमा लैजाने प्रस्ताव पनि उनले गरेका छन्।
किसानका लागि बीउ, मल र प्रविधि खरिदका लागि बिचौलियामुक्त गर्दै सिधै किसानको बैंक खातामा अनुदान रकम पठाउने योजना अघि सार्दै महतले बाँझो जमिन भाडामा लिएर सामूहिक वा व्यावसायिक खेती गर्ने प्रणालीलाई प्रोत्साहन गरिनुपर्ने उल्लेख गरेका छन्।
कृषि विकास बैंकलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने मुख्य संस्थाका रूपमा पुनः परिभाषित गरिने पनि उनले उल्लेख गरेका छन्।
युवाहरूका लागि रोजगारी सिर्जना गर्न प्रविधि तथा कृत्रिम बौद्धिकता को प्रयोग बढाउने र यो क्षेत्रलाई वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत बनाउने लक्ष्य पनि उनको कार्यदिशामा उल्लेख छ।
रन अफ द रिभर आयोजनामा विद्युत् प्राधिकरणको सट्टा निजी क्षेत्रलाई प्राथमिकता दिने र जलाशययुक्त ठूला आयोजनामा वैदेशिक लगानी भित्र्याउने नीति लिनुपर्ने महतको प्रस्ताव छ।