प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार अलमल र लोकरिझ्याइँवादी बनेको भन्दै नेपाली कांग्रेसको इतर पक्षले कडा आलोचना गरेको छ।
शुक्रबारदेखि राजधानीमा जारी इतर पक्षको भेलामा समसामयिक प्रस्ताव प्रस्तुत गर्दै नेता एनपी साउदले मुलुकको र कांग्रेस दुवै जटिल मोडमा आइपुगेको उल्लेख गरेका छन्।
पूर्वपरराष्ट्र मन्त्री साउदले पेस गरेको प्रतिवेदनले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारको शैलीप्रति गम्भीर संशय व्यक्त गरेको छ।
प्रधानमन्त्री शाहले व्यवस्थापिका र राजनीतिक दलहरूसँग समन्वय नगरी एकलकाँटे शैली अपनाएको तथा सामाजिक सञ्जालमा आधारित लोकरिझ्याइँलाई प्राथमिकता दिएको आरोप प्रतिवेदनमा लगाइएको छ।
संसद् अधिवेशन आह्वान भइसकेपछि त्यसलाई स्थगित गरेर आठवटा अध्यादेश ल्याउनु लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको प्रतिवेदनमा उल्लेख छ।
सेवाग्राहीका लागि गरिएका सुरुवाती प्रशासनिक सुधार दीर्घकालीन हुन नसकेको र पुनः नागरिकले जताततै लाइनको सास्ती भोग्नुपरेको साउदको प्रतिवेदनमा उल्लेख छ।
सरकारले पूर्व तयारी बेगर अमानवीय ढंगले सुकुम्बासी हटाएको उल्लेख गर्दै तराई मधेसमा पछिल्लो समयमा भएको हिंसात्मक घटनामा पनि सरकार चुकेको साउदले प्रतिवेदनमा उल्लेख गरेका छन्।
आन्तरिक समीक्षाका क्रममा प्रतिवेदनले संसदीय इतिहासकै कमजोर स्थिति भोगेको औंल्याएको छ।
‘२०७९ को चुनावमा ८९ सिट जितेर ठूलो दल बनेको कांग्रेस २०८२ फागुन २१ को निर्वाचन परिणामपछि ३८ सिटमा सीमित हुनु ऐतिहासिक रूपमै कमजोर अवस्था हो,’ प्रतिवेदनमा भनिएको छ, ‘हारको दोष एक–अर्कालाई दिनुको साटो हामी कहाँ चुक्यौं भनेर इमानदार समीक्षा गर्नुपर्छ।’
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित चुनावी सरकारलाई असंवैधानिक करार गरेको प्रतिवेदनले सो सरकारले चुनाव गराउन सकेकोमा भने सकारात्मक मान्नुपर्ने उल्लेख छ।