नेकपा एमालेका नेता झपट रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार इलाममा दिएको अभिव्यक्तिलाई लिएर प्रश्न गरेका छन्।
रावलले आफ्नो फेसबुकमार्फत प्रश्न गर्दै ती प्रश्नहरूलाई सकारात्मक रूपमा लिन पनि अध्यक्ष ओलीलाई आग्रह गरेका छन्।
शनिबार इलाम पुगेको ओलीले पार्टी पुनर्गठनको बहस र आवाजलाई 'हुल्याहाहरूको हुलदंगा' भनेका थिए।
पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया र समोसा खाँदै अध्यक्ष हटाउने कुरा गरिएको बताउँदै ओलीले त्यस्तो अराजकता नचल्ने भनेका थिए।
उनले अध्यक्ष हटाउन हस्ताक्षर नै गरेर हिँडेको र त्यसको पनि अर्थ नहुने बताएका थिए।
'महाधिवेशनको एउटा विधि, प्रक्रिया र समय हुन्छ। जतिबेला विरोधीले तीव्र प्रहार गरिरहेका छन्, त्यतिबेला सिंगो पार्टी एकजुट भएर सामना गर्नुपर्ने ठाउँमा भित्रैबाट यस्ता कुरा गर्नु बेकार हो,' उनले भनेका थिए।
जबाफमा रावलले ओलीलाई सोधेका ४ प्रश्न यस्ता छन्−
१. चिया गफ कि पार्टीको जीवन्त धड्कन?
पार्टी क्यान्टिनमा चियाको चुस्कीसँगै वैचारिक मन्थन गर्ने निष्ठावान् कार्यकर्ताहरूलाई 'आवारा'को उपमा दिइरहँदा इतिहासले प्रश्न गरिरहेको छ— हिजोका सङ्घर्षपूर्ण दिनहरूमा तिनै कार्यकर्ताहरूसँगै बसेर राजनीति र क्रान्तिका पाठ सिकाउने कमरेड स्वयं के हुनुहुन्थ्यो?
यदि विचार र नीतिको बहस गर्ने कार्यकर्ता आवारा हुन् भने, तिनलाई नेतृत्व दिने संस्था र चौतारीलाई चाहिँ के भन्ने?
२. नेतृत्व परिवर्तन- हिजो अधिकार, आज अराजकता?
पार्टीमा नेतृत्व रूपान्तरण र हस्तान्तरणको माग गर्नेहरूलाई सोझै 'अराजक' देख्नु कुन मार्क्सवादी सिद्धान्तभित्र पर्छ? हिजो आफूभन्दा अगाडिको नेतृत्व परिवर्तनको माग र सङ्घर्ष नगरीकन तपाईं आजको सर्वोच्च ठाउँमा पुग्नुभएको हो र? हिजो आफूले गर्दा 'न्यायोचित क्रान्ति' हुने, तर आज अरूले उही माग दोहोर्याउँदा 'अराजकता' ठहरिने यो कस्तो दोहोरो मापदण्ड हो?
३. आन्तरिक लोकतन्त्र कि एकाधिकारवादी धम्की?
पार्टी सुधार र रूपान्तरणको आवाज उठाउनेहरूलाई "पार्टी छोडेर जाऊ" भन्ने गैर-जिम्मेवार अभिव्यक्ति किमार्थ सुहाउँदैन। हिजोका अग्रज नेताहरूले पनि तपाईंलाई यसै गरी धम्क्याएर पाखा लगाएको भए आज तपाईंको राजनीतिक अस्तित्व कहाँ हुन्थ्यो कमरेड? याद रहोस्— यो पार्टी कसैको निजी कम्पनी वा प्राइभेट लिमिटेड होइन; हजारौँ सहिदको रगत, लाखौँ कार्यकर्ताको पसिना र बलिदानले उभिएको साझा घर हो।
४. अवसरको हिसाब-किताब र आत्मसमीक्षाको प्रश्न
अरू कोही जिम्मेवारीमा पुग्दा 'पटक-पटक अवसर पाएको' वा 'मैले नै बनाइदिएको' भनेर अवमूल्यन गर्ने, अनि कमरेडको आफ्नै हकमा भने त्यो नियम कहिल्यै लागू नहुने? अवसर र जिम्मेवारीको यो हिसाब-किताब अरू साधारण कार्यकर्ताका लागि मात्र बनाइएको मानक हो कि नेतृत्वको आफ्नै लागि पनि लागू हुन्छ?
रावलले आफ्नो प्रश्न कुनै व्यक्ति विशेषविरूद्ध नभई पार्टीलाई सही दिशामा डोहोर्याउने, आन्तरिक लोकतन्त्रलाई जीवित राख्ने र वैचारिक मन्थनलाई ऊर्जा दिने एउटा निष्ठावान् कार्यकर्ताको सचेत र जिम्मेवार आवाज भनेका छन्।