नेपाली कांग्रेस संस्थापनइतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय भेला/सम्मेलन ५ बुँदे निर्णय गर्दै सकिएको छ।
पूर्वमहामन्त्री शशांक कोइरालाको अध्यक्षता र पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भेला/सम्मेलन भएको थियो।
गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेका तत्कालीन सभापति देउवा, तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला र उनीपक्षका जिल्लादेखि केन्द्रसम्मका नेता कार्यकर्ताहरू पनि यो भेलामा सहभागी रहेका थिए।
भेला उद्घाटन समारोहमा उपस्थित भएका नेता पूर्णबहादुर खड्का र शेखर कोइराला भने समापन समारोहमा देखिएनन्।
उद्घाटन सत्रमा देउवाको दायाँबायँ शेखर र शशांकलाई राखिएको थियो।
यो भेलाले १५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कृयाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जान निर्णय गरेको छ।
अहिले राष्ट्रिय भेला आयोजक समिति संयोजक शशांक कोइराला थिए। अब संस्थापनइतर पक्षको नेता उनै हुने यो निर्णयले देखाउँछ।
शशांकलाई अघि बढाउने भेलाबाटै निर्णय हुने भएपछि निवर्तमान कार्यवाहक सभापति खड्का र नेता शेखर नआएको चर्चासमेत कांग्रेसभित्र छ।
हामीले भेला समापन समारोहमा सहभागी नेता रामहरि खतिवडालाई उद्घाटन सत्रमा आएका नेताहरू बन्द सत्रमा किन अनुपस्थित रहेका हुन् भनेर सोधेका छौं।
सेतोपाटीसँगको कुराकानीका क्रममा खतिवडाले भने, ‘पूर्ण दाइ हिजो बन्द सत्रमा आउनुभएको थियो। आज आउनु भएन। रूघाखोकी लागेको छ भन्ने सुनेँ, अस्वस्थ भएर होला नआउनुभएको।’
साथै उनले नेता शेखरले भने सुरूमै उद्घाटन सत्रमा मात्र सहभागी हुने कुरा गरेको बताए। ‘उहाँले पार्टी मिलाउनुपर्छ, उद्घाटत्र सत्रमा आउँछु भन्नुभएको थियो।’ शनिबार र आइतबार बन्द सत्रमा शेखर सहभागी भएका थिएनन्।
तर पूर्ण र शेखरनिकट अरू नेता कार्यकर्ताहरू भने समापन सत्रमा पनि सहभागी भएका थिए।