नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा नेताको घरमा छ कि भनेर खोज्न आफू नजाने टिप्पणी गरेका छन्। उनले पार्टीको आत्मा कार्यकर्ताहरूमै भेटिने पनि बताए।
साउन २९ गते संस्थापनइतर पक्षले गरेको राष्ट्रिय भेला उद्घाटनमा नेता प्रकाशशरण महतले 'सानेपामा पार्टीको शरीर मात्र छ, आत्मा छैन' भनेका थिए।
त्यसप्रति लक्ष्य गर्दै सभापति थापाले आज काठमाडौंमा आयोजित धर्म गौतमले लेखेको पुस्तक 'बीपी र विद्रोहका ती दिन' विमोचन कार्यक्रमबाट भने, ‘आत्मा नेताहरूको घरमा लुकेको छ कि भनेर खोज्न म जान्न।’
उनले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर संस्थापनइतर पक्षले सुकेधारामा गरेको ३ दिने भेलाप्रति सोमबार जबाफ दिने पनि बताए।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूलाई बोलाएर यसबारे १ घन्टा बोल्ने कार्यक्रम रहेको उल्लेख गर्दै उनले आज विमोचन गरेको पुस्तकबारे केन्द्रित रहन पत्रकारहरूलाई आग्रह पनि गरेका थिए।
उनले पार्टीका संस्थापक नेताहरूलाई कसैले निजी बनाउन नपाउने पनि बताए।
‘बिपी कोइरालालाई कसैले वा गणेशमानलाई कसैले यो घरभित्र कैद गर्न दिनुहुन्न। आज बिपीलाई अपव्याख्या हुँदै गर्दा बिपीको आह्वानमा आन्दोलनमा उत्रेका अगाडी आएर बुझाउनुपर्छ, हामीसँग त्यो आधिकारिकता हुँदैन, हामीलाई तिमीहरूले देख्या थियौँ, वीपीभन्दा छैन भन्नुपर्ने हुन्छ, कहिलेकाहीँ कुराकानी गर्न ३ जना बस्यो भने बिपीले यसो भन्नुभएको थियो भन्नुहुन्छ, अब कहीँ पढेको पनि छैन, सुनेको पनि छैन, भन्नुभएको छ भनेपछि हो की भन्नुपर्यो। त्यसैले साँच्चिकै त्यो बेलामा अभियान्ता थिए, उहाँले बिपीको बारेमा भनिदिनुपर्छ,’ उनले भने।
उनले राष्ट्रिय सम्मेलनमा नेताहरूले राखेको धारणाप्रति लक्ष्य गर्दै विगत ३ दिनमा आफ्नो निन्दा भएको पनि सञ्चारमाध्यमहरूबाट थाहा पाएको उल्लेख गरे। यस्ता निन्दालाई प्राथमिकता नदिन उनको आग्रह छ। ‘सबै निन्दा हेडलाइन। कसले कति बढी निन्दा गर्यो भन्ने टिपेर देखाइहाल्या छ,’ उनले भने, ‘कहिलेकाहीँ इतिहास र विषयकेन्द्रित कुरा पनि आउनुपर्छ। नेताले के बोल्यो भन्ने मात्र होइन।’