अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन निर्देशन दिएका छन्।
ट्रम्पले रक्षा मन्त्रालय (पेन्टागन)लाई दक्षिण कोरियासँग वार्षिक हुने संयुक्त सैन्य अभ्यास उल्लेख्य रूपमा घटाउन निर्देशन दिएको भनेर आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर जानकारी दिएका छन्।
उनले तीन कारणले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन निर्देशन दिएको बताएका छन्। संयुक्त सैन्य अभ्यास रद्द गर्न ढिला भइसकेकाले घटाउन भनेको उनले बताएका छन्।
ट्रम्पका अनुसार संयुक्त सैन्य अभ्यास घटाउन निर्देशन दिनुको सबैभन्दा ठूलो कारण इरान युद्धमा दक्षिण कोरियाले अमेरिकालाई सहयोग नगर्नू हो।
इरानसँगकै युद्ध उत्कर्षमा रहँदा ट्रम्पले हर्मुज खुलाउन र इरानलाई कहिल्यै आणविक हतियार बनाउन नदिने सुनिश्चित गर्नका लागि उनले युरोपलगायत अरू निकट देशहरूसँग सहायता खोजेका थिए।
त्यतिबेला हर्मुज जलमार्ग खुलाउने विषयमा दक्षिण कोरियाले ठाडै अस्वीकार गरेकाले उनीहरूसँगकै संयुक्त सैन्य अभ्यास पनि घटाउने निर्णयमा पुगेको ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
'मैले हालै दक्षिण कोरियाका राष्ट्रपतिलाई इस्लामिक गणतन्त्र इरानको आणविक निःशस्त्रीकरण अभियानमा हामीसँग सामेल हुन चाहनुहुन्छ कि भनेर सोधेको थिएँ। उहाँहरूले नहुने भन्ने जबाफ दिनुभयो,' ट्रम्पले लेखेका छन्।
ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेतना किम जोङ उनसँग आफ्नो सम्बन्ध राम्रो भएको र दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गर्दा उत्तर कोरियालाई राम्रो सन्देश नजाने पनि बताएका छन्।
उनले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गर्ने सहमति आफूलाई पहिल्यै देखि मन नपरेको पनि बताएका छन्।
'यस्ता अभ्यासले उत्तर कोरियालाई एकदमै अनुपयुक्त र शत्रुतापूर्ण सन्देश दिन्छ। डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता उत्तर कोरियाले अमेरिकाप्रति कुनै धम्की दिएको छैन र सम्मानजनक व्यवहार गर्दै आएको छ,' ट्रम्पले भनेका छन्।
तेस्रो कारण, खर्चको विषयमा छ।
ट्रम्पले संयुक्त सैन्य अभ्यासमा धेरै खर्च हुने र खर्चको धेरै हिस्सा अमेरिकाले नै ब्यहोर्नुपर्ने भएकाले पनि अभ्यास उल्लेख्य रूपमा घटाउन निर्देशन दिएको बताएका छन्।
'त्यसैले, र अभ्यास रद्द गर्न ढिला भइसकेको तथ्यलाई ध्यानमा राख्दै, मैले रक्षामन्त्री पिट हेगसेथलाई संयुक्त सैन्य अभ्यासहरू उल्लेख्य रूपमा घटाउन निर्देशन दिएको छु,' ट्रम्पले लेखेका छन्।
दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने ट्रम्पको निर्णय उनको प्रशासनले केही महिनाअघि दक्षिण कोरियाको प्रशंसा गरेको अवस्थाभन्दा ठूलो परिवर्तन हो।
गत मेमा अमेरिकी रक्षा सचिव पिट हेगसेथले पेन्टागनमा भएको भेटमा दक्षिण कोरियाले रक्षा खर्च बढाउने प्रतिबद्धता जनाएको र कोरियाली प्रायद्वीपको सुरक्षामा मुख्य जिम्मेवारी लिन नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए।
'यसले गठबन्धनमा बोझ बाँडफाँटको यस्तो उदाहरण प्रस्तुत गर्छ, जसलाई अमेरिकाका सबै साझेदारले अनुसरण गर्नु राम्रो हुनेछ,' हेगसेथले त्यतिबेला भनेका थिए।
अमेरिकी सेनाका अनुसार सोमबारदेखि ‘उल्ची फ्रिडम शिल्ड’ संयुक्त सैन्य अभ्यास सुरू हुँदै थियो। यसमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी छन्। उत्तर कोरियाबाट उत्पन्न हुन सक्ने सैन्य खतराविरुद्ध तयारी क्षमता बढाउनु अभ्यासको मुख्य उद्देश्य हो।
यो अमेरिका र दक्षिण कोरियाबीच हरेक वर्ष हुने दुई मुख्य संयुक्त सैन्य अभ्यासमध्ये एक हो। अर्को प्रमुख अभ्यास वसन्त ऋतुमा आयोजना हुन्छ।
यसपटकको अभ्यासमा अमेरिकी र दक्षिण कोरियाली सेनाले जटिल परिस्थितिमा संयुक्त सैन्य कारबाहीको अभ्यास गर्ने कार्यक्रम थियो।
त्यसमा संयुक्त सटीक लक्ष्य निर्धारण र सैन्य परिचालन परीक्षण गर्ने प्रत्यक्ष गोली प्रहार अभ्यास, पानीको अवरोध पार गर्ने अभ्यास तथा पहिले नै भण्डारण गरिएका सैन्य सामग्री वितरण गर्ने अभ्याससमेत समावेश थिए।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले पनि अभ्यास सोमबार निर्धारित योजनाअनुसार सुरु भएको पुष्टि गरेको छ।
संयुक्त अभ्यास सुरु हुनुभन्दा केही दिनअघि मात्रै उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्ध उल्लंघन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गतिविधि पुनः सुरु गरेको थियो।
यसै महिनाको सुरुवातमा दक्षिण कोरिया, अमेरिका र जापानले उत्तर कोरियाबाट प्रहार गरिएका दुई ब्यालिस्टिक क्षेप्यास्त्र पत्ता लगाएका थिए। ती क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वी तटबाट बाहिर समुद्रमा खसेका थिए।
जुनको अन्त्यपछि उत्तर कोरियाको यो पहिलो ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण थियो।
ट्रम्पको निर्णयको डेमोक्रेटिक सिनेटर मार्क केलीले कडा आलोचना गरेका छन्।
पूर्व नौसेना पाइलटसमेत रहेका केलीले सामाजिक सञ्जालमा संयुक्त सैन्य अभ्यासलाई कमजोर बनाउनु अदूरदर्शी र गल्ती भएको बताएका छन्।
उत्तर कोरियाले पनि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोध गर्दै आएको छ।
शुक्रबार उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाविरुद्ध कडा कदम चाल्ने चेतावनी दिँदै सैन्य अभ्यासलाई आक्रामक युद्धको पूर्वाभ्यास भनेको थियो। प्योङयाङले यस्ता अभ्यासले क्षेत्रीय अस्थिरता बढाइरहेको दाबी गरेको थियो।
उत्तर कोरियाले सन् २०१९ मा ट्रम्पसँगको उच्चस्तरीय कूटनीतिक संवाद विफल भएपछि आफ्नो आणविक तथा क्षेप्यास्त्र क्षमताको विस्तारलाई तीव्र बनाउँदै आएको छ।
विज्ञहरूका अनुसार किमले ठूलो हतियार भण्डार निर्माण गरेमा भविष्यमा अमेरिकासँग हुने वार्तामा थप सहुलियत लिन सकिने विश्वास गरेको हुनसक्छ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग उत्तर कोरियाको आणविक कार्यक्रमबारे तीनपटक भेटवार्ता गरेका थिए।
पछिल्लो भेट सन् २०१९ मा भएको थियो। दोस्रोपटक राष्ट्रपति बनेपछि पनि ट्रम्पले किमसँगको वार्ता पुनः अघि बढाउन इच्छुक रहेको संकेत दिँदै आएका छन्।
सन् २०२५ को सेप्टेम्बरमा किमले ट्रम्पसँग आफ्नो राम्रो व्यक्तिगत सम्झना रहेको बताएका थिए। तर उत्तर कोरियाको आणविक निःशस्त्रीकरणप्रतिको अमेरिकी अडान परिवर्तन भएमा मात्रै वार्तामा फर्किन सकिने संकेत दिएका थिए।
दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा आउनुभन्दा एक दिनअघि उनले किमसँग आफू उभिएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
तस्बिरबारे ट्रम्पले दुवै नेता उत्कृष्ट सम्बन्धमा रहेको बताएका थिए, यद्यपि उक्त तस्बिरमा किमको अनुहार मैत्रीपूर्ण नदेखिएको पनि उल्लेख गरेका थिए।
ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास रोक्ने प्रयास यसअघि पनि गरेका थिए।
सन् २०१८ मा सिंगापुरमा किमसँग पहिलो शिखर वार्ता गरेपछि उनले संयुक्त अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यासलाई उत्तेजक भन्दै रोक्ने घोषणा गरेका थिए।