नेकपा (एमाले)ले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएको तथा उनको कार्यालय र घरमा समेत खानतलासी गरिएको घटनाप्रति आपत्ति जनाएको छ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद राजेन्द्रकुमार राईले यस्तो आपत्ति जनाएका हुन्।
उनले पत्रकार श्रेष्ठमाथि भएको व्यवहार नागरिकको अभिव्यक्ति स्वतन्त्रमाथिको हस्तक्षेप भएको टिप्पणी गरे।
'पत्रकारले लेख्न पाउने अधिकार बञ्चित गरेको छ । यस्तो गर्नु हुन्छ कि हुँदैन यो लोकतन्त्रमा ? लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । सबै मानिसले लेख्ने, बोल्ने अधिकार छ । साउन २७ गते जनआस्थाको सम्पादक किशोर श्रेष्ठलाई पक्रिएको छ । उसलाई पक्रिसकेपछि उसको घरमा खान तलामसी गरियो, उसको ल्यापटप समेत जफत गरियो । अनि सरकारले यस्तो गर्न मिल्छ ? कुनै पत्रकारलाई पक्राउ गर्नको लागि पूर्जी चाहियो । उसले के गर्यो भन्नेकुरा समेत थाहा नपाइकन पक्राउ गर्न मिल्छ?,' उनले भने।
सांसद राईले सरकार अधिनाकवादतर्फ उन्मुख भइरहेको समेत आरोप लगाए।
उनले सरकारले नागरिकको जिउधनको सुरक्षा गर्नुपर्नेमा आफैं समाजमा संशय र असुरक्षा पैदा गरिरहेको आरोप पनि लगाए।
'मलाई के लाग्छ भने यो सरकारले जनताको जिउधनको सुरक्षा गर्नुपर्नेमा उल्टै पत्रकारलाई थुन्ने काम गर्नुहुँदैन,' उनले भने।