आफूहरूले लामो समयदेखि संसदमा उठाएको विषयलाई सरकारले सम्बोधन नगरेको भन्दै आजको प्रतिनिधि सभा बैठकमा २ जना सांसद उभिएर विरोध गरिरहे।
नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्मा र रास्वपा सांसद आशिका तामाङ आफूहरूले संसदमै राखेको विषय सरकारले नसुनेको र समाधान नगरेको विरोधमा संसदमै उभिएपछि सभामुख डोलप्रसाद अर्यालले रूलिङ गरेका हुन्।
रूकुम पश्चिमका सांसद शर्माले रूकुम, जाजरकोट र सल्यान क्षेत्रका भूकम्प प्रभावित क्षेत्रमा सरकारले जिम्मेवारीपूर्ण तवरले काम गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए। उनले साउन २२ गते नै आफूले सरकारलाई यस विषयमा जबाफ दिन ९ दिने अल्टिमेटम दिएको तर त्यो अवधिमा जबाफ नआएकोले जबाफ नआउन्जेल उभिरहने बताएका थिए।
सरकारलाई जबाफ दिन समय नै तोकेर सभामुखले रूलिङ नगरेसम्म आफू उभिएर विरोध गरिरहने उनले बताएका थिए।
यसपछि सभामुखले बोल्न रास्वपा सांसद आशिका तामाङलाई समय दिए।
उनले कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव लामो समयदेखि नेपाल ल्याउन नसकेको बताइन्। ३७ दिनअघि यस विषयमा आफू संसदमा बोले पनि त्यसबारे सरकारको ध्यानाकर्षण नभएको उनको भनाइ थियो।
‘अर्थ मन्त्रालयले बजेट छुट्याएको छ तर परराष्ट्रले कार्यविधि नबनाउँदा आफन्तले लासको आश गर्न छाडे, विदेशमा अलपत्र भई मरेका आफ्ना नागरिकलाई कि राज्यले आफ्ना नागरिक होइनन् भनेर घोषणा गरोस्,’ उनले भनिन्, ‘यस विषयमा जबाफ नदिउन्जेल म उभिरहन्छु।’
यसपछि सभामुख अर्यालले सांसदहरू गोपाल शर्मा र आशिका तामाङबाट उठाइएको विषयमा ३ दिनभित्र जबाफ दिन सरकारलाई रूलिङ गरेका छन्।