सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने भनी अकस्मात आएको प्रस्ताव नेताहरूको अहसमतिबीच नै हलबाट अनुमोदन गराएपछि नेपाली कांग्रेस संस्थापनइतर पक्षभित्र मतभेद देखिएको छ।
धर्म निरपेक्षताको संवैधानिक व्यवस्था परिवर्तन गर्ने आसयसहित अकस्मात ल्याइएको यो प्रस्तावकै कारण राष्ट्रिय भेला/सम्मेलनको निर्णय पत्रकार सम्मेलन गरी औपचारिक रूपमा सार्वजनिक गर्ने कार्यक्रम नै रोकिएको छ।
नेताहरू फेरि बसेर यस विषयमा प्रस्टीकरण नदिएसम्म र एउटा निष्कर्षमा नपुगेसम्म पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने पक्षमा नेताहरू छैनन्।
नेता शंकर भण्डारी र प्रकाशशरण महत लगायतले सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता रहेको प्रस्ताव तयार गरेका थिए।
सम्मेलनबाट २० निर्णय गर्ने मोटामोटी सहमति भए पनि समापन सत्र चल्दै गर्दा मञ्चमै बसेर नेता भण्डारी र महत लगायतले ५ बुँदे प्रस्ताव तयार पारेको र त्यही सुनाउन खोजेपछि सुरूमै विवाद देखा परेको नेताहरू बताउँछन्।
सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रस्तावका विपक्षमा अधिकांश नेताहरू उभिएका छन्।
पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रमेश लेखक र मीनबहादुर विश्वकर्मा लगायत यस्तो विषय निर्णयमा समावेश गर्न नहुने अडानमा उभिएका हुन्।
पूर्वउपसभापति निधि भने प्रस्ताव हलमा सुनाउने बेला पोडियममै पुगेर त्यहाँ रहेका नेता महतसँग कुरा गरेका थिए। निधि लगायत नेताहरू अहिले संविधानमै रहेको व्यवस्था रहनुपर्ने पक्षमा उभिएका थिए। त्यसैले सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता सम्मेलनले गर्छ भन्ने निर्णयमा उनीहरू सहमत थिएनन्।
भेला समापन समारोहमा 'नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपाल रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता गर्नेछ' भन्ने प्रस्ताव सुनाएर ताली बजाएर अनुमोदन गर्न लगाइएको थियो।
यस विषयले देउवा पक्षभित्र मतभेद निम्त्याएको छ र आजका लागि निर्धारित पत्रकार सम्मेलन रोकिएको छ। सुशील कोइराला प्रधानमन्त्री रहेका बेला २०७२ असोज ३ मा संविधान जारी भएको थियो। कांग्रेसकै सभापति प्रधानमन्त्री रहेका बेला बनेको संविधान रक्षा गर्नुको सट्टा त्यसलाई ठेस पुग्ने गरी निर्णय गर्न हुन्न भन्ने पक्षमा अधिकांश नेताहरू छन्।
नेता मीनबहादुर विश्वकर्माले प्रस्तावका केही विषयमा नेताहरूबीच एक पटक कुराकानी गरेपछि मात्रै पत्रकार सम्मेलन गरिने सेतोपाटीलाई बताए।
उनले धर्मसम्बन्धी प्रस्तावमाथि असहमति रहेको संकेत गर्दै सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका छन्।
'मन मिल्नेसँग कुरा मिलेन। कुरा मिल्नेसँग मन मिलेन। दुवै मिल्नेसँग विचार मिलेन, बात खत्तम, जय नेपाल,' उनको भनाइ छ।
संस्थापनइतर पक्षका नेताहरूका अनुसार नेता शंकर भण्डारीले सनातन हिन्दु धर्मलाई राष्ट्रको पहिचान (हिन्दु राष्ट्र) का रूपमा अघि बढाउने प्रस्ताव पारित गर्नुपर्ने कुरा बन्द सत्रदेखि नै उठाउँदै आएका थिए। त्यसमा नेता प्रकाशशरण महत लगायतले पनि सहयोग गरेको बुझाइ कतिपय नेताहरूको छ।
नेता भण्डारीले हिन्दु धर्मसम्बन्धी कुरा नेता विमलेन्द्र निधिले पेस गरेको राजनीतिक प्रस्तावमा नआएको भन्दै बन्द सत्रमा असन्तुष्टिसमेत पोखेका थिए। निधि धार्मिक स्वतन्त्रताका पक्षमा उभिएका नेता हुन्।
प्रस्तावहरूमा धर्मसम्बन्धी विषय नअटेपछि भण्डारीले यसबारे धारणा राखिदिन भन्दै निवर्तमान सभापति शेरबहादुर देउवालाई चिट नै दिएको नेताहरू बताउँछन्। उक्त चिटपछि देउवाले आफू हिन्दु हुँ भनेर बोलेका थिए। साथै, देउवाले धार्मिक स्वतन्त्रताका पक्षमा आफू रहेको पनि बताएका थिए।
नेता प्रकाशशरण महतले समापन हलमा प्रस्तावहरू सुनाउने बेला नेता निधिले ५ बुँदे प्रस्तावको मस्यौदाका केही शब्दमा असहमति जनाएको पनि बताएका थिए।
संस्थापनइतर पक्षका एक नेताका अनुसार सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रस्ताव घुसाउन देउवालाई समेत केही नेताहरूले 'प्रयोग' गरेका थिए।
'शेरबहादुरजीले धर्मबारे आफै केही कुरा भन्नुभएको पनि थिएन, उहाँको यसबारे केही अडान पनि थिएन। उहाँलाई केही नेताहरूले धर्मबारे बोल्न लगाए, उहाँले पनि म हिन्दु हुँ भनेर तीन पटक बोल्नुभयो, उहाँ हिन्दु हो भन्ने सबैलाई थाहा छ, किन भनिराख्नुपर्यो,' ती नेताले भने।